एमसीसीले गठबन्धनमै दुरी बढ्यो, देउवा एकातिर बहुमत दल अर्काेतिर
वि.सं.२०७८ पुस ५ सोमवार १३:४६
shares

अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद बढेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसदबाट अनुमोदन गराउन चाहन्छन् भने दुई वाम घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी यसको विपक्षमा छन् ।
पार्टीको १४औं महाधिवेशनबाट पुनः सभापतिमा चुनिएका प्रधानमन्त्री देउवाले आइतबार पहिले सत्तारुढ गठबन्धन र त्यसपछि सर्वदलीय बैठक बोलाएका थिए । गठबन्सधनकाे बैठकमा शुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाएको भन्दै तुरुन्तै अगाडि बढाउनुपर्नेमा जोड दिए । तर अन्य दलहरू त्यसकाे विपक्षमा उभिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसबारे छलफल गर्नुपर्ने बताए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल नै बनाएको र एमसीसीका कतिपय विषय स्वीकार गर्न नसकिने रहेको बताए ।
जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले पनि इण्डो प्यासिफिक रणनीति अन्तर्गत हो वा होइन मात्र नभई सम्झौताका अन्तरवस्तुमा छलफल गर्नुपर्ने बताए ।
एक नेताका अनुसार बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी धारणा राखेका थिए । गठबन्धनलाई कायम राख्दै यो विषयमा कसरी सम्बोधन गर्न सकिन्छ उपाय खोज्नुपर्ने उनको धारणा थियो । प्रधानमन्त्री देउवाले सम्झौता अघि बढाउन ताकेता गरे पनि माओवादीले पुस ११-१३ मा हुने राष्ट्रिय सम्मेलनसम्म पर्खन आग्रह गरेको छ ।
बैठकमा जसपाका नेता डा. बाबुराम भट्टराई भने एमसीसीको पक्षमा उभिएका छन् । सत्ता गठबन्धनको आइतबार बसेको बैठकले एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय समिति बनाएको छ । एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेको समितिलाई समयसीमा तोकिएको छैन ।
लगत्तै बसेकाे सर्वदलीय बैठकमा समेत अन्य दल विपक्षमा उभिएपछि कांग्रेस एक्लाे बन्याे । प्रमुख प्रतिपक्ष एमाले सर्वदलीय बैठकमा सहभागी नै भएन ।

























