राष्ट्रिय महिला भलिबल टिम : बन्द प्रशिक्षणबाट ५ खेलाडी बाहिरिए
वि.सं.२०७८ मंसिर १८ शनिवार १८:५१
shares

राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पहिलो चरणमा ५ खेलाडी टिम बाहिर राख्दै १५ सदस्यीय टिम छनोट गरेको हो ।
रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी बन्द प्रशिक्षणबाट बाहिरिएका हुन् । महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ । यसै प्रतियोगिताको लागि पुरुष टिमको समेत प्रशिक्षण भइरहेको छ ।
महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा तयारी गरिरहेको छ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।
बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी:
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषा कुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैशी ।
























