सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु
वि.सं.२०८३ असोज २५ आइतवार १५:५०
shares

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित खेल मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको नगर प्रमुख वासुदेव थापाले उद्घाटन गरे।
प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार, तृतीय हुनेले २५ हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा चौथोले १० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोल किपरले पाँच हजार, उत्कृष्ट गोलकर्ताले पाँच हजार र उत्कृष्ट प्रशिक्षकलाई पाँच हजार पुरस्कार प्राप्त गर्ने सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख थापाले भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको नगरपालिकाले यस वर्ष खेलकुदको विकासका लागि नगरपालिकाले एक करोड रूपैयाँको बजेट विनियोजन गरेको बताए। उनले तिहारपछि नंखेलमा ५० रोपनी जग्गामा फुटबल रङ्गशालाका निर्माणका लागि चार करोड विनियोजन गरिएको बताउँदै उनले नगरपालिकाले यस वर्ष प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने बताए ।
हरेक महिना खेलकुद प्रतियोगिता गर्दै नगरपालिकाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको बताउँदै उनले तीन तहकै सरकारले खेल र खेलाडीको विकासका लागि लगानी गर्नुपर्ने बताए ।
नगरपालिकाको उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा र वडा नं १० का वडाध्यक्ष शिवराम राउतले नगरपालिकाले खेलकुद विकास समिति गठन गरेपछि नगर क्षेत्रमा खेलकुदले फड्को मारेको चर्चा गरे ।
























