काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

390
shares

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी सुरक्षा टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढ्ने अवस्थालाई ध्यानमा राखेर राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ ।

यात्रुहरूको सहजताका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षमार्फत बढी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई यात्राका क्रममा पर्नसक्ने समस्याको समाधानमा सहजीकरण गरिने प्रवक्ता काफ्लेले बताए ।

राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट र ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने उनले जानकारी दिए ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १० वटा मोबाइल गस्ती टोली परिचालन गरिएको छ । तत्काल प्रहरी सहायता आवश्यक पर्ने स्थानमा छिटो पुग्न मोटरसाइकलसहितका द्रूत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली तथा पैदल गस्तीको समेत व्यवस्था गरिएको छ ।

चाडपर्वका समयमा बजार क्षेत्रमा हुने भिडभाड, चोरी, लुटपाट तथा जुवातास जस्ता गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित चोरी तथा लुटपाटका घटना रोक्न निगरानी बढाइएको प्रवक्ता काफ्लेले बताए।

उनका अनुसार चाडपर्वमा हुनसक्ने कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनको व्यवस्था मिलाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय र प्रदेश राजधानीमा रहेका विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएको छ ।

सवारी दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोली तयारी अवस्थामा राखिएको छ । कुनै स्थानमा घटना हुँदा त्यहाँ परिचालित जनशक्ति अपुग भएमा थप परिचालन गर्न दुईवटा रिजर्भ टोलीको व्यवस्था गरिएको छ । सडक अवरोध तथा आकस्मिक घटनाको व्यवस्थापनका लागि स्ट्राइकिङ टोलीसमेत खटिने उनले जानकारी दिए ।

रातमाटे, भैँसे, मनहरीलगायत जिल्लाका प्रमुख प्रवेश तथा निकासस्थल र सिन्धुली तथा काठमाडौँ जोड्ने सडकखण्डमा सुरक्षा जाँचलाई प्राथमिकता दिइएको छ । इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत नियमित निगरानीको व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताए ।