सर्वाेच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेसी ताेक्ने निर्णय
वि.सं.२०७८ मंसिर ९ बिहीवार २१:३६
shares

सर्वोच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको फुलकोर्टको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । यसअघि सर्वोच्चमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।
गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागू गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।
सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन । बिच-बिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।
नेपाल बार एसोसिएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यवद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

























