गृहपृष्ठ आइजीपी थापा क्षेत्री टर्की प्रस्थान
आइजीपी थापा क्षेत्री टर्की प्रस्थान
प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म सञ्चालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहेका आइजीपी थापा क्षेत्रीसँग महासभामा सहभागी हुन एआइजी प्रद्युम्न कुमार कार्की र एसपी सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । उनस्हरुलाई एआइजी निरज बहादुर शाही, डीआइजीलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाई गरे ।
१९४ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुनेलगायतका कार्यक्रम रहेका छन् । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माइक्रोनेसियाले आवेदन गरेको छ ।
महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन । साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
आइजीपी क्षेत्रीको अनुपस्थितिमा एआइजी निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।
प्रकाशित समय : १६:५१ बजे




















