global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔं : ऊर्जामन्त्री

पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔं : ऊर्जामन्त्री

पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔं : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (एको-याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताइन् ।

'विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्ययोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौं,' स्वदेशमै उत्पादन भएको विद्युत् खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै उनले भनिन्, 'स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि मद्दत पुग्छ ।'

जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, 'हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौं ।' विकसित राष्ट्रले गरेको गल्तीका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उनले भनिन्, 'मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौं ।'

विपद्का समयमा रेडियोको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री भुसालले भनिन्, 'विपद्का समयमा सबैभन्दा बढी प्रभावकारी एफएम नै हुन्छ । सूचना साझेदारीको काम गर्न तयार छौं । सूचनाको माध्यम रेडियो भएको छ ।' सरकार सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै उनले जुनसुकै समयमा पनि सहजरूपमा रेडियो सुन्न सकिने भएकाले रेडियो प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम भएको बताइन् । उनले भनिन्, 'सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो नै छ ।'

जनताको प्रगतिमा आफू निरन्तर लाग्ने विश्वास दिलाउँदै उनले भनिन्, 'समाजवादउन्मुख समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै हो ।' मन्त्री भुसालले जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई निःशुल्क गरेको सुनाइन् । कार्यक्रममा एको-याबका अध्यक्ष अर्जुन गिरीले कोभिड-१९ को संक्रमण, भूकम्पको जोखिम एवं बाढी पहिरोका समयमा सामुदायिक एफएमहरूले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै सामुदायिक रेडियोका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सामुदायिक रेडियोले प्रविधिमात्र नभई विषयवस्तुका सन्दर्भमा पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउँदै अभ्यासमा पनि सामुदायिक रेडियो भन्ने प्रमाणित गर्दै जानुपर्नेमा जोड दिए । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक कमलराज जोशीले सामुदायिक रेडियोसँग सहकार्य गरेर विपद्का सूचना प्रवाह गर्न विभाग तयार रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाउने बताए ।

त्यसैगरी पूर्व अध्यक्षहरू मीनबहादुर शाही र सुवास खतिवडाले विपद्का समयमा रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा बिबिसी नेपाली सेवाका प्रमुख जितेन्द्र रावतले श्रोताको आवश्यकतानुसार विषयवस्तु उत्पादन गर्न सक्दा नै रेडियोको जिम्मेवारी पूरा हुने बताए ।

प्रकाशित समय : ००:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु