गृह जिल्ला पुगेका कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा
वि.सं.२०७७ मंसिर १७ बुधवार २१:३०
shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाईसमेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ।’ उनका सचिवालयका सदस्यहरुले पनि पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओले पनि पक्राउ परेको जानकारी दिए ।
निषेधित क्षेत्रमा कार्यक्रम गरेको भन्दै कांग्रेस नेता पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वरिष्ठ नेता पौडेलले सुरक्षा घेरा तोडेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बताएका छन् ।

























