सबै सुविधा र अवसरमा फरक क्षमता भएकाहरुको समान पहुँच स्थापित गरिनुपर्नेमा राष्ट्रपतिको जोड
वि.सं.२०७७ मंसिर १८ बिहीवार १६:३०
shares

राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।
नेपालको संविधानले अपांगता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चिपत गरेको, ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको तथा नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको जनाउँदै राष्ट्रपतिले यी संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपांगता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड दिएकी छन् ।
उनीहरूलाई क्षमता र आवश्यकतानुसारका रोजगारमूलक एवं सीपमूलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने तथा तिनको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपांगमैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको राष्ट्रपतिले ध्यानाकर्षण गराउनुभएको छ ।
अपांगता भएका व्यक्तिको अधिकार प्रवर्द्धन तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ । ‘कोभिड(१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चि तताः अपांगता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय संकल्पका साथ नेपालमा पनि अपांगता दिवस मनाउन लागिएको छ । (रासस)

























