यू-२३ एसियन कप छनोट : नेपाल अन्तिम खेलमा लेबनानसँग भिड्दै
वि.सं.२०७८ कात्तिक १४ आइतवार १४:४५
shares

ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने उक्त खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुवै टिम अघिल्ला दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । छनोटको समूह 'बी'मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।
अंकविहीन नेपाल समूहको पुछारमा रहेको छ । तेस्राे स्थानमा रहेकाे लेबनान पनि अंकविहीन छ । यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ । इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुने छ ।

























