गृहपृष्ठ राजधानी तेघरीमा भौतिक पूर्वाधार निर्माण गर्न माग
राजधानी तेघरीमा भौतिक पूर्वाधार निर्माण गर्न माग
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माणलगायतका कार्य अघि बढाउन माग गरिएको छ । राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गरेका हुन् ।
बुधबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाउँदै दुवै पार्टीले प्रदेश राजधानी घोषित क्षेत्रमा यथाशिघ्र आवश्यक काम थाल्न माग गरिएको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले बुझाएको ज्ञापन पत्रमा अत्तरिया बसर्पाकलाई प्रदेशस्तरीय बसपार्क बनाएर स्नतरोन्नति तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ ।
गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैँकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुसार निर्माण गर्न समेत माग उनीहरुले गरेका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए ।
जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ महिनादेखि थन्काएको दाबी गर्दै उनले जग्गा प्राप्ती हुने बित्तिकै भौतिक संरचना निर्माणको काम थालिने जनाए । डीपीआर निर्माणको काम भने चाडै थालिने उनले बताए । अन्य मागका सम्बन्धमा आफू सकारात्मक रहेकाले छलफल गरेर पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
१२ असोज २०७५ मा गोदावरी नगरपालिका २ र ४ को तेघरी वन क्षेत्रमा प्रदेशको राजधानी घोषणा गरिएको थियो । राजधानी घोषणाका लागि गठित समितिको प्रस्ताव प्रदेशसभाबाट तत्कालीन नेकपा नेतृत्वको सरकारले पारित गरेको थियो । तर, राजधानी घोषणा भएको तीन वर्षसम्म प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न नसकेको हो । प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समिति गठन गरिसकेको छ । तर, जग्गा प्राप्ति नभएकै कारण काम अगाडि बढाउन नसकिएको पूर्वाधार विकास समितिले बताउँदै आएको छ ।
प्रकाशित समय : ०१:३८ बजे



















