गृहपृष्ठ सतनचुली वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा
सतनचुली वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा
व्यस्त सहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो ।
रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुंगाले बनेको कलात्मक छ । पाँच बिघा जमिनमध्ये आधा भागमा रिसोर्ट छ भने बाँकीमा फार्म हाउस बनाइँदै छ । पर्यटन क्षेत्रका अनुभवी र विज्ञले नभएर हाडजोर्नी विषेशज्ञ डा. प्रमोदप्रसाद लामिछानेले रिसोर्ट सञ्चालनमा ल्याएका छन् । पाँच वर्षअघि च्यारिटी अस्पताल खोल्ने उद्देश्यले खरिद गरिएको जग्गामा अत्याधुनिक रिसोर्ट बनाइएको हो ।
भरतपुरमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका सञ्चालक लामिछाने र उनकी श्रीमती डा. विष्णुमाया खरेल लामिछानेले रिसोर्ट निर्माण सुरु गरेका हुन् । डेढ वर्षअघि खरेलको क्यान्सरबाट निधन भएको छ । उनको जन्मदिन पारेर उनीहरुका छोरा प्रतीकले आज रिसोर्टको उद्घाटन गरेका हुन् । लामिछानेको भनाइमा रिसोर्टको आम्दानीको एउटा हिस्सा स्व. खरेलको नाममा अक्षयकोष बनाएर अपाङ्ग बालबालिकाको हाडजोर्नी उपचारमा खर्च गरिनेछ । दन्तरोग विशेषज्ञ रहेकी स्व. खरेलको परिकल्पनाको रिसोर्ट भएकाले डा. लामिछाने यसको आम्दानीलाई समाज सेवामा लगाउने योजनामा छन् ।
रिसोर्टमा १५ वटा भिल्ला रहेका छन् । ती भिल्लामा २२ वटा कोठा छन् । ती कोठा आगामी असोज १ गतेबाट सञ्चालनमा आउने छन् । क्रमशः कोठा थप गर्दै लगिने उनको भनाइ छ । वातावरणीय प्रभाव मूल्यांकन गरेर ७५ कोठाको अनुमति लिइएको छ । एउटा छुट्टै प्रेसिडेन्सियल भिल्ला रहेको छ । सो भिल्लामा स्वीमिङ पुलसहित आवश्यक सुविधा छन् ।
महँगो रकम तिर्न सक्ने ग्राहकलाई लक्षित गरी यो भिल्ला बनाइएको हो । रिसोर्टभित्र तारा आकारको सानो, गीतार आकारको मझौला र कलाकौशलले भरिएको ठूलो गरी तीनवटा स्वीमिङ पुल रहेका छन् । ती स्वीमिङ पुलमा पहाडबाट झरेको प्राकृतिक पानीको प्रयोग गरिएको छ । यहाँ गर्मी मौसममा पनि शीतलता प्राप्त गर्न सकिने उनी बताउँछन् । एक हजार जना अट्ने ठूलो सभाहलसँगै ५० र १०० जना अट्ने सभाकक्ष रहेको लामिछानेले जानकारी दिए ।
रिसोर्ट परिसरमा ठाउँठाउँमा काठका कलात्मक पुल बनाएर आकर्षक बनाइएको छ । रिसोर्टमा चीनबाट झिकाइएका सेरामिक धातुका सिंह, गाड, युवती, बत्ती राखेर सझाइएको छ । रेष्टुरेण्टमा कलात्मक काठभित्र झुमर बालिएको छ । रिसोर्टमै पूर्वी एसिया झल्काउने चाइना हाउस निर्माण गरिएको छ ।
लामिछानेले रिसोर्टमा ढुंगासँगै अधिकतम काठ, खडाइ, खरको प्रयोग गरेका छन् । २० करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको यस रिसोर्टमा थप लगानीको तयारीमा उनी छन् । लामिछानेले भने, 'यो बुटिक रिसोर्ट हो । तपाइ जे हेर्नुहुन्छ अनौठो र आनन्द लाग्छ ।' अध्ययन अनुसन्धान गर्नेहरुलाई शान्त वातावरणमा लामो समय बस्नका लागि रिसोर्ट उपयुक्त हुने उनको भनाइ छ । रिसोर्ट परिसरमा आँप, लिची, कटहर, बेल, अम्बा, अमलालगायत रुख रहेका छन् ।
प्रकाशित समय : ०१:२४ बजे



















