global ime bank Long Banner Ad

गृहपृष्ठ ‘पाल टाँग्ने जमिन छैन, तुइन काटिएपछि खाद्यान्न अभाव भयो’

‘पाल टाँग्ने जमिन छैन, तुइन काटिएपछि खाद्यान्न अभाव भयो’

‘पाल टाँग्ने जमिन छैन, तुइन काटिएपछि खाद्यान्न अभाव भयो’

दुहुँ गाउँपालिका-२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन् । गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ । गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन् । यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन् ।

'पहिराले घर भासिने क्रम अझै रोकिएको छैन । घर धुजाधुजा बनेका छन् । खेत पूरै दरार भएका छन् । साउन १४ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु,' पुरनले भने, 'त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुपर्‍यो नि ? बाढीपहिरो आएको भोलिपल्टसम्म जमिन भासिएको थिएन, घर सुरक्षित नै थिए, तर अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ । यो ठाउँमा बस्न सकिने अवस्था पनि छैन । हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ ।' उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ । सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो । राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२-१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताए । उनका अनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो । बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो । उनले भने, 'अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ । तर कति दिन विद्यालयमा बस्नु । विद्यालय खोल्ने तयारी हुँदैछ । हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनुपर्छ ।'

बाढीपहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशीलगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन् । 'हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ,' पुरन साहुले भने, 'जनप्रतिनिधि आएकै छैन, संघीय सरकारका प्रतिनिधि आएकै छैन । हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस् ।'

प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन् । उनले बाढीपहिराको स्थलगत निरीक्षणपछि भने, 'खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन् ।' उनका अनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ । बस्तीमाथिका डाँडा पूरै दरार बनेका छन् । 'मलाई लाग्छ, यो क्षेत्रमा खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले अनुसन्धान गर्नुपर्छ,' प्रजिअ जोशी भने, 'यहाँको पूरै बस्ती तराईको कुनै ठाउँ राख्नुपर्छ । यसको लागि संघ र प्रदेशले भूमिका खेल्नुपर्छ । पहिरो हेर्नै नसकिने अवस्थाको छ । हामीले तत्काल बैठक बोलाएर आवश्यक जानकारी पठाउँछौँ ।'

तुइन काटिएपछि खाद्यान्न अभाव

पहिराले अहिले जिल्लाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । दार्चुला-तिंकर खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ । यातायात सेवा अवरुद्ध भए पनि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिराको जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ ।

यहाँका बासिन्दा तिंकर सडकमै पैदल हिँडेर खलंगा पुग्नुपर्ने बाध्यता विगतदेखिकै हो । दुहुका सबै ठाउँका बासिन्दा तिंकर सडक भएरै खलंगा जानुपर्छ । 'विभिन्न कामले सदरमुकाम नगई हुन्न । तर जोखिम धेरै छ,' व्यासका स्थानीय विशेश्वरप्रसाद बडुले भने, 'गाउँदेखि सदरमुकाम पुग्न भिरको बाटो छ । तिंकर सडकको ठाउँ-ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै जोखिम बढेको छ । अहिले यो क्षेत्रमा झोलुंगे पुल बगाउनुको साथै तिंकर सडकको ठाउँ-ठाउँमा पहिरो गएपछि झन् समस्या भएको छ ।'

माथिबाट ढुंगा खस्ने र हतारले हिँड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको सर्वसाधारण बताउँछन् । स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पूर्ति गर्नुपर्छ । तर सदरमुकाम आउजाउ गर्न सर्वसाधारणलाई सकस परेको दुहुँ गाउँपालिका-३ का रमेशबहादुर बम बताउँछन् । 'सडक पुगेपछि दुहुँ र व्यासका बासिन्दा मौसमी मात्रै भए पनि राहत पाएका थिए । अहिले विभिन्न ठाउँमा अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको छ,' उनले भने, 'सुरुमा स्थानीय बासिन्दा आफैँले भारी बोकेर काम चलाउँदै आएका थिए । सडक पुगेपछि बानी छुट्यो । अहिले पुनः भारी बोक्नुपर्ने भएपछि समस्या भयो ।'

दुहुँ गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्र्याक्टरसमेत नचल्दा चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको स्थानीय व्यापारी बताउँछन् । व्यासका बासिन्दा विगतमा भारतीय बाटो हुँदै तुइनको माध्यमबाट आवतजावत गर्थे । अहिले गत साउन १५ गते भारतीय एसएसबीले तुइन काटेपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ । 'नेपालतिर बाटो भएर आउन दुहुँसम्म पनि बाटो छैन । हिँडेर जान दुई दिन हिँड्नुपर्छ,' दानसिंह कार्कीले भने ।

दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा सोमबारदेखि खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका-२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । व्यास गाउँपालिकाको मालमा सोमबार ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिए । बीस-बीस क्विन्टलका दरले मालमा खाद्यान्न ढुुवानी भएको थियो । गत साउन १५ गतेदेखि भारतीय एसएसबीले महाकाली नदीमा तुइन लगाउन बन्द गराएपछि यस क्षेत्रमा खाद्यान्न अभाव भएको छ । भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिँदा मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुनसकेको छैन । नेपालतिर सडकको विकल्प नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो ।

व्यासका लागि खाद्य संस्थानले पनि चामल ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ । व्यास-१, २ र ३ का लागि ६०० क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो । यो क्षेत्रमा खाद्यान्न ढुवानी गर्न एक करोड बजेट विनियोजन गरिएको छ । यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढीपहिरापछि गाउँमा खाद्यान्न अभाव हुन नदिन १०० क्विन्टल खाद्यान्न, तीन क्विन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकोप्टरमार्फत ढुवानी गरिने जोशीले जानकारी दिए । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ ।

सम्बन्धित गाउँपालिकाको व्यवस्थापनमा गृह मन्त्रालयले हेलिकोप्टरमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकोप्टर दार्चुला पुगेको छ । सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको छ । (रासस) 

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु