गृहपृष्ठ बागमतीमा १८ लाखले पूर्ण खोप लगाए
बागमतीमा १८ लाखले पूर्ण खोप लगाए
बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । बागमतीमा १८ वर्ष उमेरमाथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको संख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको संख्यउ ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ । देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाउनेको संख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ ।
प्रहरीद्वारा ११ लाखलाई निःशुल्क मास्क वितरण
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार उक्त कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म सो परिमाणमा निःशुल्क मास्क वितरण गरिएको हो ।
नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित ‘तपाईंको मास्क खै ?’ अभियानअन्तर्गत निःशुल्क मास्क वितरण गर्दैआएको छ । स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने एक हजार २६६ जनालाई सम्झाई बुझाइ छाडिएको छ । माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतना मूलक कार्यक्रमअन्तर्गत आठ हजार २३२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १८:३६ बजे

















