गृहपृष्ठ वीरेन्द्रनगरमा लेखापढी तालिम सुरु
वीरेन्द्रनगरमा लेखापढी तालिम सुरु
वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा लेखापढी तालिम सुरु भएको छ । आइतबारदेखि सुरु गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समिति, नेपाल कानुन समाज र द एसिया फाउन्डेसनको सहकार्यमा तालिम सञ्चालन भएको हो । ५० जनाको सहभागिता रहेको तालिम समापनपछि जिल्ला अदालत सुर्खेतले लेखनदास परीक्षा सञ्चालन गर्ने भएको हो ।
जसमा पास हुनेहरुलाई जिल्ला अदालत सुर्खेतले लेखनदास प्रमाणपत्र प्रदान गर्ने तयारी रहेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार लेखापढी तालिममा ५० जना नै महिलाहरुको सहभागी रहेको हो । ‘यो तालिमलाई महिला स्वरोजगारसँग जोडिएको छ,’ उनले भनिन्, ‘महिलाहरुलाई क्षमता अनुसारको रोजगारी दिन यो तालिमको आयोजना गरिएको हो ।’
तालिमको सहजीकरण नेपाल कानुन समाजका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, वीरेन्द्रनगर नगरपालिकाका कानुनी सल्लाहाकार कृष्णबहादुर हमाल र नगरका वैतनिक वकिल गीता कोइरालाले गरेका छन् । लेखापढी क्षेत्रमा महिलाहरुको कम सहभागिता भएको समयमा नगरका ५० जना महिलाहरुलाई रोजगारी सिर्जना गर्नका लागि तालिमको आयोजना गरिएको ढकालले बताइन् ।
प्रकाशित समय : ०१:४२ बजे


















