नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या भारतमा भन्दा धेरै, डब्लूएचओले दियाे बधाई
वि.सं.२०७८ भदौ १७ बिहीवार १९:११
shares

नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का दक्षिण-पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएकी छन् ।
यस्तै नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या भारतमा भन्दा धेरै रहेको छ । भारतमा हालसम्म १० दशमलब ६१ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने नेपाल याे संख्या कुल जनसंख्याकाे १५.४ प्रतिशत रहेको छ । यस्तै दक्षिण एशियाली देशमा पूर्ण खोप लगाउने सबैभन्दा धेरै भुटान रहेको छ । त्यहाँ ७५ प्रतिशतले खोप लगाइसकेका छन् । यस्तै माल्दिभ्समा हालसम्म कुल जनसंख्याको ५५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

























