global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिममा सरकारबाट बाहिरिँदै नेकपा एमाले

सुदूरपश्चिममा सरकारबाट बाहिरिँदै नेकपा एमाले

सुदूरपश्चिममा सरकारबाट बाहिरिँदै नेकपा एमाले

नेकपा एमाले विभाजनको असर सुदूरपश्चिममा पनि परेको छ । एमालेबाट अलग भएर माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी गठन भएपछि प्रवेश गर्नेहरुको संख्या यकिन नभए पनि एमाले विभाजनको असर सुदूरपश्चिम प्रदेश सरकारको समिकरणमा समेत पर्ने भएको छ ।

यतिबेला एमाले र समाजवादी दुवै पार्टी बहुमत आफ्नो पक्षमा हुने दावी त गरिरहेका छन्, तर दुवै पक्षमा कति जना प्रदेश सभा सदस्य छन्, दुवै पक्षले प्रष्ट पार्न सकेका छैनन, बहुमत पुर्‍याउन दुवै पक्षको कसरत भने जारी छ । सुदूर प्रदेश सरकारको नेतृत्व यतिबेला माओवादी केन्द्रका त्रिलोचन भट्टले गरिरहेका छन् र माओवादीलाई नेकपा एमाले टुक्रिनु अघिको माधव नेपाल समूहको साथ छ ।
 
नेकपा संसदीय दलका नेता प्रकाश शाहले केही महिना अघि सरकारमा रहेका ओली पक्षीय मन्त्रीहरु पठान सिंह बोहरा र झपट बोहरालाई हटाएर माधव पक्षीय सांसदहरुलाई मन्त्री बनाएका थिए । तिनै शाह माधव नेपाल नेतृत्वको समाजवादीमा गएनन् । उनी यतिबेला आफैंले कारबाही गरेकाहरुको कित्तामा उभिएका छन् । शाहले पार्टी विभाजनकै क्रममा आफू एकताको पक्षमा भएको प्रष्ट पारेका थिए ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य छन् । नेकपा एमालेका २५ जना सांसद थिए । पार्टी विभाजन अघि माधव नेपाल समूहका पक्षमा १७ जना प्रदेश सभा सदस्य थिए । तटस्थ भूमिकामा रहेका सभामुख अर्जुनबहादुर थापा पनि माधव नेपाल पक्षधर मानिन्छन् । नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले समाजवादी पार्टीमा बहुमत सदस्य रहेको बताइन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी बन्ने निश्चित छ, उनले भनिन्, ‘बहुमत सदस्य हाम्रो दलमा आवद्ध भइसकेका छन् ।’ जोशीसँगै पूर्वमन्त्री माया भट्ट समाजवादीको केन्द्रीय सदस्य बनेकी छन् । भौतिक पूर्वाधारमन्त्रीले आफू माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा रहेको प्रष्ट पारिसकेका छन् । उनले आफूसँगै बलबहादुर सोडारी, अमर साउदलगायत विगतमा आफ्नो साथमा रहेका आधा दर्जनभन्दा बढी सांसदहरु समाजवादी पार्टीमा रहेको दावी गर्दै आएका छन् । सोडारीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व समाजवादी पार्टीको दावी रहने बताउँदै आएका छन् ।

नेकपा संसदीय दलका पूर्व प्रमुख सचेतक तारालामा तामाङ र कुलवीर चौधरी पनि माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्री मना साउँद, राज्यमन्त्री चुनकुमारी चौधरी पनि समाजवादी पार्टीको पक्षमा छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खड्काले आफू समाजवादी पार्टीमा रहेको प्रष्ट पारेका छन् ।

राज्यमन्त्री अर्चना गहतराज पनि समाजवादी पार्टीका पक्षमा रहेको समाजवादी पार्टीकी केन्द्रीय सदस्य जोशीले बताइन् । १३ जना प्रदेशसभा सदस्य हाम्रो पक्षमा खुलिसकेका छन्, यो संख्या अझै बढ्ने छ, समाजवादीका एक नेताले भने, ‘प्रदेश सभामा हाम्रो दल सबैभन्दा ठूलो हुनेछ । बिगतमा माधव नेपाल समूहअन्तर्गत भीम रावलको पक्षमा रहेको १७ जनामध्ये रावल नेकपा एमालेमा फर्किएपछि रावललाई प्रकाश शाह र प्रकाश रावलले मात्र खुलेर साथ दिएका छन् । सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलको नेता रहेका शाह एमालेका केन्द्रीय सदस्यसमेत हुन् ।

एमाले उपाध्यक्ष भीम रावलका भिनाजु प्रदेशसभा सदस्य हर्क कुँवर गोविन्दसमेत नेकपा एमालेका पक्षमा अहिलेसम्म खुलेका छैनन् । नेकपा एमालेका पक्षमा रहेका प्रदेशसभा सदस्य प्रकाश रावलले निर्वाचन आयोगमा गएर एकीकृत समाजवादीका पक्षमा सनाखत नगरेसम्म सबै सांसदहरु एमाले नै रहने बताए । उनले भने, ‘अहिलेसम्म कसैले निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छैनन् । त्यसैले अहिलेसम्म सबै एमालेमै छन् ।’

मन्त्रीहरु आफ्नो पद जोगाउने कसरतमा छन् । मन्त्री नभएकाहरु मन्त्री पद पाउनका लागि कसरत गरिरहेका छन् । नेकपा एमालेका पक्षमा जानेहरुले मन्त्री पद गुमाउनुपर्ने भएकोले एमालेका धेरै प्रदेशसभा सदस्यहरु कता जाने भन्ने दुविधामा छन् । मन्त्री पद जोगाइरहनका लागि भने धेरै प्रदेशसभा सदस्यहरु एकीकृत समाजवादी पक्षमा जाने देखिन्छ । पार्टी विभाजनपछि नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिने निश्चित छ । प्रदेश सभाहरुले आफ्नो कित्ता प्रष्ट पारेकै दिन एमाले सरकारबाट बाहिरिनेछ ।

त्यसपछि भने माओवादी केन्द्र, नेपाली कांग्रेस, समाजवादी पार्टी र जनता समाजवादीको संयुक्त सरकार बन्ने छ । प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् । पछिल्लो समय नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेको छ । एमाले र समाजवादीको साथ बिना पनि कांग्रेसलाई सरकार बनाउन आवश्यक संख्या २७ जना जुट्ने देखिन्छ ।

प्रकाशित समय : ००:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु