नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाइकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा
वि.सं.२०७८ भदौ ४ शुक्रवार १८:२२
shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकलसहित नियन्त्रण गरेको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२-०१२ प७०६६ नम्बरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको एसएसपी जनक भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका-२, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने २२ वर्षको तेज थापामगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२- ०१०प ९४४६ खुल्न आएको छ । उनी नयाँबसपार्क, गंगबुबाट पक्राउ परेका हुन् ।
उक्त नम्बरको मोटरसाइकल १० दिन अगाडी मात्र काठमाण्डौं, पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाण्डौं मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएका थिए । उनले दिएको निवेदनको आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वोर पठाइएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मादासले जानकारी दिए ।

























