गृहपृष्ठ सुर्खेतमा ७ प्रतिशतले पाए पूर्ण खोप
सुर्खेतमा ७ प्रतिशतले पाए पूर्ण खोप
सुर्खेतमा ७ प्रतिशत नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् । सुर्खेतका जम्मा जनसंख्याको ७ प्रतिशत नागरिकले पूर्ण खोप प्राप्त गरेका हुन् । जसमा खोपको पहिलो मात्रा प्राप्त गर्ने करिब १६ प्रतिशत रहेका छन् भने दोस्रो मात्रा प्राप्त गर्ने ७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सुर्खेतमा हाल ४ लाख २३ हजार जनसंख्या रहेको छ । हरेक वर्ष जिल्लाको जनसंख्याको अद्यावधिक गरि स्वास्थ्य सेवा दिने गरिएको हो । यद्यपि २०६८ सालको जनगणनाअनुसार ३ लाख ५० हजार ४ सय ८ जनसंख्या रहेको छ । जनस्वास्थ्य सेवा कार्यालयले अद्यावधिक गरेको जनसंख्यामा खोपको पहिलो मात्रा प्राप्त गर्ने ६२ हजार ४ सय ६८ जना रहेका छन् भने खोपको दोस्रो मात्रा प्राप्त गर्ने २६ हजार ७ सय ६० जना रहेका हुन् । चीन, भारत र अमेरिकन डोज अहिले नागरिकका लागि आएका हुन् । जसमा भारतबाट आएको कोभिशिल्डको पहिलो मात्रा २७ हजार २ सय ९६ जनाले लगाएका छन् ।
कोभिशिल्डको दोस्रो मात्रा भने ८ हजार ५ सय ८९ जनाले मात्रै प्राप्त गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । उनका अनुसार कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी १८ हजार ७ सय ७ नागरिकहरुलाई जापानबाट एक्स्ट्राजेनिका नामको खोप आउने तयारी भएको उनले बताए । चीनबाट आएको भेरोसेलको पहिलो मात्रा ३५ हजार १ सय ७२ र दोस्रो मात्रा ५ हजार ६ सय ९० जनाले लगाएको वाग्लेले बताए । सुरुको चरणमा ६ हजार १ सय ५३ जना र गत सोमबारदेखि हालसम्म २९ हजार १९ जनाले भेरोसेल खोप लगाएको उनले सुनाए । अमेरिन खोप जोन्सन एण्ड जोन्सन भने तत्काल सुर्खेतका पाँचवटा स्थानीय तहमा १२ हजार ४ सय १८ डोज लगाइसकेको उनले बताए । बाँकी लगाउने क्रममा रहेको उनको भनाइ छ । जम्मा २३ हजार डोज लगाउने तयारी भएकोमा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका, बराहताल र चिङगाड गाउँपालिकामा पहिलो चरणमा खोप लगाइएको हो ।
साउन २१ र २२ गते बाँकी चारवटा स्थानीय तह सिम्ता गाउँपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र गुर्भाकोट नगरपालिकामा लगाउने तयारी भएको उनले बताए । अमेरिकन खोप लगाउनेमा अपांगता भएका ‘क’ र ‘ख’ वर्गका नागरिक, ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, विदेश जाने तयारीमा रहेका नागरिकहरु तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्य र सरसफाईका कर्मचारीहरु रहेको उनले बताए । जम्मा जनसंख्याका ७० प्रतिशतलाई खोप लगाउनुपर्ने भएको वाग्लेले बताए । विश्व स्वास्थ्य संगठनले भने १८ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाउने भनेको छ ।
शिक्षकलाई खोप
गत माघ १४ गतेदेखि कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन सुरु गरेदेखि शिक्षकहरु रुष्ट थिए । राज्यले फ्रन्ट लाइनमा खटिएर काम गर्ने शिक्षकको मूल्यांकन नगरेको उनीहरुको आरोप थियो । गत सोमबार र मंगलबारदेखि शिक्षकहरुलाई समेत खोप लगाउन सुरु गरिएको छ । सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका अनुसार जिल्ला भरका ९ वटा स्थानीय तहमा २ हजार २ सय ९ जना शिक्षकको दरबन्दी रहेको छ । जसमा माध्यमिक तहमा १ सय ५६ जना स्थायी र १ सय ३ जना राहत शिक्षक रहेका छन् ।
कार्यालयका शाखा अधिकृत नारायण पौडेलका अनुसार निमावि तहमा २ सय ४५ स्थायी र १ सय ५० राहत, प्राथमिक तहमा १ हजार १ सय ९० स्थायी र ३ सय ६५ राहतका शिक्षक रहेका छन् । शिक्षकहरु सहित पहिलो चरणमा खोप लगाउन छुटेका फ्रन्ट लाइनर लगायतलाई खोप दिइएको हो । शिक्षकहरुमा निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई समेत खोप दिइएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रकाशित समय : १९:१८ बजे



















