जसपा विवाद : निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु
वि.सं.२०७८ साउन ११ सोमवार १७:४४
shares

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव)का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।
जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले जसपाको आधिकारिकतासम्बन्धी निर्णय आजै आउन पनि सक्ने जानकारी दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा रहेको इजालसले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन साउन ७ गते आदेश दिएको थियो । आयोगले जसपा निर्वाचन आयोगमा दल दर्ता गर्दाको बखतका ५१ कार्यकारिणी समितिका पदाधिकारीलाई बोलाएको हो ।
यसबीच, ठाकुर पक्षले हेड काउन्ट राेक्न अन्तरिम आदेशकाे माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेकाे थियाे । तर, सर्वाेच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि आज आयाेगमै जसपाका कार्यकारिणी सदस्यहरूकाे सनाखत भइरहेकाे हाे ।

























