गृहपृष्ठ पाकिस्तानी राष्ट्रपतिद्वारा विद्युतीय मतदानको अनुमति
पाकिस्तानी राष्ट्रपतिद्वारा विद्युतीय मतदानको अनुमति
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगसम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेका छन् । साथै विदेशमा रहेका पाकिस्तानी नागरिकले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा पाकिस्तानी निर्वाचन आयोगलाई आमनिर्वाचनको प्रयोजनका निम्ति विद्युतीय मतदान मेसिन खरिद गर्न सक्ने अख्तियारी दिइएको उल्लेख छ । निर्वाचनसम्बन्धी कानुनमा गरिएको संशोधन बमोजिम अबका दिनहरुमा पाकिस्तानमा हुने संसदको निर्वाचन र उपचुनावमा विदेशमा रहेबसेका पाकिस्तानी नागरिकलाई मतदानको अधिकार हुनेछ । संशोधित निर्वाचनसम्बन्धी कानुनमा भनिएको छ, 'निर्वाचन आयोगले राष्ट्रिय तथ्यांक तथा दर्ता निकाय वा अन्य सरकारी निकायसँग प्राविधिक सहायता लिएर निर्वाचनका समयमा मतदानको व्यवस्था गर्न सक्नेछ ।'
प्रधानमन्त्री इमरान खानको मन्त्रिपरिषदले मतदानको अधिकार सम्बन्धी अध्यादेश जारी गरेको हो । यसअघि पनि कानुनमा केही व्यवस्था गरेर मतदानको अधिकार, विद्युतीय मतदान मेसिनको प्रयोग तथा बायोमेट्रिक परीक्षण मेसिनको प्रयोगलाई नमुनाका रुपमा उपनिर्वाचनमा प्रयोग गरिएको थियो । राष्ट्रपतिको पछिल्लो आदेशसँगै आगामी सन् २०२३ मा हुने संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगका लागि बाटो खुलेको छ ।
प्रकाशित समय : २०:१९ बजे




















