दैलेखको टुइकुनामा माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, १० घाइते
वि.सं.२०७७ फागुन २७ बिहीवार २०:०७
shares

कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको छ ।
चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका- १, टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बरको माइक्रोबस दुर्घटना भएको हो ।
घाइते १० मध्ये गम्भीरावस्थाका सात जनालाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले बताएका छन् । 'म उद्धारमा छु, माइक्रोबस दुर्घटनाको कारण खुलेको छैन । माइक्रोबस राजमार्गबाट ५० मिटर तल खसेको छ । माइक्रोबसमा कालिकोटबाट १५ यात्रु सवार थिए । उद्धार जारी छ,' उनले भनेका छन् । (रासस)

























