काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सार्वजनिक पार्क निर्माणमा काठमाडौँ महानगरको दुई उद्देश्य, २८ करोड बजेटमा काम धमाधम

24.55K
shares

काठमाडौैँ महानगरपालिकाले काठमाडौँ सहरलाई सुन्दर, हरियाली, व्यवस्थित र सार्वजनिक जग्गा अतिक्रमणबाट रोक्नका लागि साना तथा ठूला पार्क निर्माण अभियान नै चलाएको छ । यसैअनुरुप चालु आर्थिक वर्षमा पनि महानगरपालिकाले पार्क निर्माणलाई निरन्तरता दिएको छ ।

महानगरपालिकाले वडाका भित्री सहरबाहेक अन्य सबै स्थानमा रहेका सार्वजनिक जग्गाहरुको पहिचान गरी पार्क बनाउने लक्ष्य लिएको काठमाडौँ महानगरपालिकाअन्र्तगत सहरी पूर्वाधार विकास विभागको विभागीय प्रमुख रामबहादुर थापाले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले पार्क निर्माणका लागि २८ करोड बजेट विनियोजन गरेको छ । चालु आवमा विभिन्न पार्क निर्माण गर्दा लाग्ने रकम भने ४५ करोडभन्दा बढी छ । यो वर्षमा अघि सारिएका योजनाहरु अर्को वर्षमा पनि क्रमागत योजनामा जाने भएकाले आउने वर्षमा पनि बजेट विनियोजन गरिने हुँदा २८ करोड मात्र रकम छुट्ट्याइएको प्रमुख थापाले जानकारी दिए । 

पार्क निर्माण गर्नुपूर्व विविध चरण पार गर्नुपर्ने हुँदा पार्क बन्न समय लाग्ने गर्दछ । चालु आवमा बनाउने भनेर तय भएका पार्कहरु पनि केही मात्र सम्पन्न भएको थापाले जानकारी दिए । उनले भने, ‘पार्कको डिजाइन गर्नमै समय खर्च हुने भएकाले भौतिक प्रगति अहिलेसम्म देखिएको छैन । असारमा बजेट पारित भइसकेपछि नगरसभाले यी-यी कार्यक्रमहरु गर्ने भनेर योजना अघि सार्छ र त्यहीअनुसार सर्भे, डिजाइन गर्नुपर्छ ।’ 

चालु आवमा कहाँ-कहाँ र कुन पार्क बनाउने र कति खर्च लाग्ने लगायतको योजना बनाउन कम्तीमा पनि चार-पाँच महिना लाग्ने उनको भनाइ छ । त्यसैले चालु आवमा बनाउने भनेर योजनमा अघि सारेका प्रोजेक्टहरु यही वर्ष सम्पन्न हुन्छन् भन्ने निश्चित नभएको प्रमुख थापाले बताए । ‘कतिपय प्रोजेक्टहरु यो वर्ष डिजाइन गरेर अर्को वर्ष टेन्डर गर्नुपर्ने हुन्छ । अघिल्ला वर्ष बनाउने भनेका केही पार्कहरु यो वर्ष सम्पन्न भएका छन् । अझै कति पार्कको काम पूरा हुन बाँकी छ,’ उनले भने ।

असारमा नगरसभाले योजना पास गरिसकेपछि साउनदेखि त्यसलाई कार्यान्वयनमा लगिने विभागीय प्रमुख थापाले बताए । उनले भने, ‘कार्यान्वयनको पहिलो चरण भनेको डिजाइन र नक्सा तयार गर्ने तथा लागत स्टिमेट निकाल्ने काम हो । स्टिमेट गरिसकेपछि टेण्डर आह्वान गरिन्छ । यी सबै काम गर्नका लागि कम्तीमा पनि ६ महिना लाग्छ ।’ साउनदेखि भदौसम्म सर्भे डिजाइनमै समय लाग्ने उनले बताए । टेन्डर स्वीकृत गरेर फिल्डमा काम थाल्नुअघि प्रक्रिया गत चरणमै पनि प्रशस्त समय लाग्ने उनको भनाइ छ ।

हालसम्मको पार्क निर्माणको अवस्था

यो वर्ष महानगरपालिकाले ६० वटा पार्क निर्माण गर्ने कार्यक्रम बनाएको छ । तीमध्ये केही पार्कहरु मात्र सम्पन्न भएका छन् । ३ नम्बर वडामा बाँसबारी इको पार्क निर्माणाधीन छ । वडा नम्बर ४ मा धुम्बाराही पार्क ‘ए’ र धुम्बराही पार्क ‘बी’ गरेर दुईवटा पार्क निर्माणको चरणमा छन् । टुँडालदेवी पार्क र चण्डोल पार्क सम्पन्न भइसकेका छन् ।  ५ नम्बर वडामा निर्माण हुने नरबुद्ध पार्कका लागि बोलपत्र आह्वान भएको छ । ६ नम्बर वडामा दुईवटा ठूला पार्क नमुना पार्क र बागमती पार्क बनिरहेको छ । यी दुई पार्क असारभित्र सम्पन्न हुने गरी काम भइरहेको महानगरको पूर्वाधार विकास विभागले जनाएको छ । वडा नम्बर सात मैजुबहालमा मजना पार्कको निर्माण सम्पन्न भइसकेको छ । वडा नम्बर सातकै कालोपुल र भत्केको पुलबीचको आइल्याण्ड पार्क सम्पन्नको अन्तिम चरणमा छ । 

१० नम्बर वडाको वुद्धनगरमा सप्तऋषि पार्कको काम सुरु भइसकेको छ । ११ नम्बर वडामा गत वर्ष नै सुरु गरिएको २ वटा पार्क चेस पार्क र कुमारी पार्क निर्माणकै चरणमा छन् । ३२ नम्बर वडाको बालकुमारी पुलदेखि मनोहरा किनारमा अमरावती पार्क बन्दैछ । ३१ नम्बर वडामा दुई ठूला पार्क टेन्डरको प्रक्रियामा छन् । दुईमध्ये प्रयागमार्गमा प्रयाग पार्क बन्दैछ । शान्तिनगरमा जेष्ठ नागरिक पार्क, चिल्ड्रेन पार्क बन्ने क्रममा छ । १८ नम्बर वडामा पुष्पलाल स्मृति पार्क सम्पन भइसकेको छ । १५ र १३ नम्बर वडाको विष्णुमती किनारमा पार्क थप्ने काम सम्पन्न भइसकेको छ । विष्णुमतीको पूर्वतर्फ किनारामा कालीमाटी पुलदेखि शोभाभगवती पुलसम्मको पूर्वतर्फ बन्ने पार्कको काम टेन्डरको प्रक्रियमा छ ।

यसबाहेक यो वर्ष टेन्टरमा परेका १४ वडाको महादेव पार्कको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । गत वर्ष डिजाइन भएर आएको कुलेश्वर आवास क्षेत्रको आइल्याण्डमा रहेका सार्वजनिक जग्गामा सातवटा पार्क निर्माण भइसकेको छ । यो वर्ष ११ ठाउँमा निर्माण हुने पार्कको डिजाइन हुँदैछ । त्यस्तै १३ नम्बर र १४ नम्बरको करखुसी खोलाको दुवैतिर पनि पर्खाल लगाएर पार्क बनाउन डिजाइन भइरहेको विभागले जनाएको छ । १४ नम्बर वडाको कलंकीको भाटभटेनीभन्दा तल रहेको सार्वजनिक जग्गालाई संरक्षण गरेर पार्कको रुपमा विकास गर्ने महानगरपालिकाको योजना छ ।

विभागका अनुसार अनामनगरको पछाडिपट्टि दुईवटा सार्वजनिक जग्गा छ, त्यसलाई पनि पार्कको रुपमा विकास गर्न प्रक्रियामा छ । कुलेश्वर आवास क्षेत्रमा मात्र ८ देखि १० वटा पार्क छन् । पेप्सीकोला टाउन प्लानिङमा ३ वटा पार्क छ । गोंगबु आवास क्षेत्रमा २ वटा पार्क बनाउने विभागको योजनामा छ । ४ र ५ नम्बर वडाको धोबीखोला छेउमा सर्वसाधारणले अतिक्रमण गरिरहेको ४५ रोपनी जग्गा सरकारको नाममा आइसकेको छ । ती ठाउँमा केही साना पार्क बनिसकेको र बाँकी ठूला पार्क निर्माणका लागि डिजाइनको काम अगाडि बढाइएको विभागीय प्रमुख थापाले जानकारी दिए ।

त्यसैगरी तीनकुनेमा आधुनिक बुद्ध पार्क बनाउने गुरुयोजना महानगरपालिकाले अघि सारेको छ । नगरपालिकाले तीनकुनेको सौन्दर्य बढाउनका लागि विशेष अवसरमा सजाउने, सफा गर्ने गरेको छ । गुरुयोजनाअनुसार काम गर्न भने बाँकी रहेको विभागीय प्रमुख थापाको भनाइ छ । विगत २० वर्षदेखि उक्त जग्गाको विवाद टुंगिन नसक्दा महानगरपालिकाले काम गर्न नसकेको थापाले उल्लेख गरे । उनका अनुसार तीनकुनेमा रहेको ४५ रोपनी जग्गामध्ये १८ रोपनीको मुआब्जा बुझ्न बाँकी छ । सम्बन्धित जग्गाधनीले जग्गाको रकम कम भएको भन्दै मुआब्जा बुझेका छैनन् । सो जग्गा सरकारको नाममा आएपछि गुरुयोजनाअनुसार काम अगाडि बढाउने महानगरको योजना रहेको थापाले बताए ।

यसबाहेक जहाँ सार्वजनिक जग्गा छ, त्यसलाई संरक्षण गर्ने उद्देश्यले पार्क निर्माणमा महानगरपालिका लागिपरेको छ । सार्वजनिक जग्गा अतिक्रमण रोक्नु र अतिक्रमणबाट जोगाइसकेपछि त्यसलाई पार्कको रुपमा विकास गर्नु यसको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ । यो वर्ष महानगरपालिकाले २८ करोड रकम विनियोजन गरेकोमा अहिलेसम्म पार्क निर्माणमा लगभग ४ करोड खर्च गरिसकेको छ । हाल काम भइरहेका ठूला योजनाहरुमा फागुनको अन्तिमदेखि चैतको पहिलो सातासम्म ५ देखि सात करोडसम्म खर्च हुने विभागीय प्रमुख थापाले जनाए । अहिलेसम्मको कामको प्रगति हेर्दा यो वर्ष सबै बजेट खर्च नभए पनि ८० प्रतिशत खर्च हुने महानगरपालिकाको अनुमान छ ।

महानगरपालिकाले हरियाली प्रवर्द्धन, पार्क विकास र नदी किनारको सार्वजनिक जग्गाको संरक्षणका कामलाई नीतिगत रुपमा प्राथमिकतामा राखेको छ । जेष्ठ नागरिक पार्क, चिल्ड्रेन पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क, महिलामैत्री पार्क लगायतका पार्कहरु महानगरपालिकाको प्राथमिकतामा रहेका छन् ।

चालु आवमा कुन पार्कका लागि कति बजेट ?

महानगरपालिकाले वडा नम्बर ४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ कै शिवस्थली पार्कका लागि १ करोड, वडा नम्बर ५ को नरबुद्ध पार्कका लागि १ करोड ५० लाख रकम विनियोजन भएको छ । ७ नम्बर वडामा मैजुबहाल पार्कका लागि ६२ लाख, कुलेश्वर आवास क्षेत्रभित्रको सार्वजनिक जग्गामा पार्क निर्माणका लागि ५० लाख रकम विनियोजन गरिएको महानगरले जनाएको छ । महानगरले वडा नम्बर ११ को कुमारी मन्दिरनजिकै र धोबीखोला दोभानको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख, ८ नम्बर वडाको गुह्ेश्वरीपारि पार्क निर्माणका लागि २० लाख, वडा नम्बर १४ को ज्ञानतीर्थमा पार्क निर्माणका लागि ४० लाख रकम विनियोजन गरेको छ ।

वडा नम्बर १४ को बालाजु पार्क विकास तथा स्वीमिङ पुल पुनःनिर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा नम्बर ३२ को अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको डीपीआर गर्न १ करोड रुपैयाँ महानगरले विनियोजन गरेको छ । विष्णुमती करिडोरमा पार्क निर्माणको लागि बहुवर्षीय योजनामा २ करोड, वडा नम्बर २१ मा जेष्ठ नागरिक आश्राम तथा पार्क निर्माणको लागि बहुवर्षीय योजनाका लागि २ करोड, वडा नम्बर ३२ को कोटेश्वर महादेवस्थान सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुल हुँदै मनोहरा हनुमन्ते दोभानसम्म नदी किनारामा पार्क निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको महानगरले जनाएको छ ।

त्यस्तै वडा नम्बर ३२ को जनमैत्री हरित उद्यान निर्माणको लागि वहुवर्षीय योजनामा १ करोड रुपैयाँ, वडा २५ मा महानगर जेष्ठ पार्क निर्माणको लागि १ करोड, वडा नम्बर ११ को थापाथलीमा सडक किनारा पार्क निर्माणको लागि ४० लाख, ३१ नम्बर वडामा प्रयाग पार्क निर्माणको लागि बहुवर्षीय योजनाको लागि १ करोड, वडा नम्बर १० मा स्ट्रिफुड पार्क निर्माणको लागि २५ लाख, वडा नम्बर ३० को मैतीदेवी पार्क निर्माणको लागि ५० लाख रकम बिनियोजन गरेको छ । यसरी यी मूख्य पार्कहरु र अन्य बाँकी पार्कहरु गरी महानगरपालिकाले २८ करोड रकम विनियोजन भएको महानगरको सहरी पूर्वाधार विकास विभागले जानकारी दिएको छ ।