गृहपृष्ठ नारी दिवसमा प्रदेश २ सरकारद्वारा १५२० छात्रालाई साइकल वितरण
नारी दिवसमा प्रदेश २ सरकारद्वारा १५२० छात्रालाई साइकल वितरण
अञ्जलीकुमारी साह भानु माद्यमिक विद्यालय किसानपुरमा अध्ययनरत छिन् । उनी ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साइकल पाएपछि निकै खुशी भइन् । उनले अब विद्यालयमा क्रियाशीलता देखाउने संकेत गरिन् । ‘सरकारले साइकल प्रदान गरेपछि विद्यालय आवतजावतका साथै हाट, बजार र शैक्षिक सामाग्री झोलामा लिएर जान सहज भइरहेको छ ।’ उनले भनिन् ।
काजल कुमारी पनि भानु मावि किसानपुरमा ८ कक्षामा अध्ययनरत छिन् । उनी आफूले प्रदेश २ सरकारबाट साइकल पाएपछि घरबाट स्कुल जान, आउन निकै सहयोग भएको बताउँछिन् । उनले भनिन्, ‘घरबाट विद्यालय जान २० देखि २५ मिनेट लाग्ने गरेकोमा आजभोलि ५ मिनेटमै पुगिन्छ ।’ काजल र अञ्जली जस्तै प्रदेश सरकारले १५ सयभन्दा बढी छात्रालाई साइकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक हजार ५२० जना छात्रालाई साइकल वितरण गरेको छ । प्रदेश २ सरकारको मधेश भवनमा आयोजित समारोहमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साइकल वितरण गरेको हो । धनुषा जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई शिक्षण सिकाईप्रति लगनशील बनाउने, पढाउने र विद्यालय आउन जान सहज हुने भन्दै प्रदेश २ सरकारले अभियानअन्तर्गत साइकल वितरण गरेको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश २ मा अहिले पनि परिवारमा छोरी जन्मिदा घरपरिवारका सदस्यहरुलाई पीडामा परेको र बोझ हुने मानसिकतालाई चिर्नका निम्ति प्रदेश २ सरकारले छोरीको हितमा कार्यक्रमहरु गर्दै आएको छ । छोरीको हिम्मत र हौसला बढाउनका लागि साइकलले सशक्त बनाउने भएकाले साइकल वितरण गरिएको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले निजामती कर्मचारीका लागि आह्वान गरिने विज्ञापनमा पनि महिलालाई ५० प्रतिशत आरक्षण दिने ऐन ल्याएको बताएका छन् । पुरुषभन्दा महिला बढी इमान्दार हुने भएकाले प्रदेश २ सरकारले प्रदेश २ मा लिङ्गका आधारमा सोही प्रतिशतको दरले आरक्षण दिएको बताए ।
प्रकाशित समय : १५:३२ बजे



















