गृहपृष्ठ टर्की पुर्याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ
टर्की पुर्याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ
दुई महिलालाई टर्की पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा गोरखा नगरपालिका- १ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका- ४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेका छन् ।
भट्टलाई काठमाडौं सोल्टीमोडबाट मंगलबार र बस्नेतलाई काठमाडौं माईतीघरबाट बुधबार मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले पक्राउ गरेको हो । बस्नेतले पीडितहरुलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख रुपैयाँ लिएपश्चात् सम्पर्कबिहीन भएको र केही समयपश्चात सम्पर्कमा आएपछि पीडितहरुले विदेश जाँदैनौँ भन्दै पैसा फिर्ता माग्दा नदिई टिकट लगायतका कागजातहरु बापत ५३ हजार रुपैयाँ लिई गत असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाइन्सद्वारा टर्की पुर्याएकी थिइन् ।
टर्कीमा बस्नेतको बुवाले काममा लगाई दिन्छु भनी आश्वासन दिई ३ हप्ता आफ्नै कोठामा राखेपछि पीडित छोरी नेपाल फिर्ता हुन्छु भन्दा नेपाल फर्कन नदिई पीडितमध्ये आमालाई ग्रीस पठाईदिन्छु भनी कोठामै बन्धक बनाई राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्याई २ हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको थाहा पाई दूताबासको समन्वयमा छोरी गत मंसिर ८ गते र आमा गत पुस २६ गते नेपाल फर्किएपश्चात उनीहरुले दिएको जाहेरीको आधारमा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ००:०२ बजे



















