गृहपृष्ठ टुंगियो एभरेष्टको विवाद, मुजफ्फरले सेयर नपाउने
टुंगियो एभरेष्टको विवाद, मुजफ्फरले सेयर नपाउने
काठमाडौं– पाँच तारे होटल एभरेष्टको सेयर विवाद सम्बन्धी मुद्दा टुंगिएसँगै होटलका संस्थापक मकबुल अहमद लारीका छोरा मुजफ्फर अहमद लारीले शेयर नपाउने भएका छन् । सर्वोच्च अदालतले नयाँ बानेश्वरमा रहेको होटलको सेयर मशकुर अहमत लारी र नज्मा अहमद लारीको पक्षमा फैसला सुनाएपछि मुजफ्फरले नपाउने निश्चित भएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुली र न्यायधीश पुरुषोत्तम भण्डारीको आइबारको इजलासले पुनरावेदन अदालतले गरेको फैसला सदर गर्दै यस्तो फैसला सुनाएको हो । सन् १९८१ देखि काठमाडौंको मध्य सहरमा भारतीय लारी परिवारको लगानीमा सञ्चालनमा आएको एभरेष्ट होटल भूकम्पपछि बन्द भएसँगै पारिवारिक विवाद बढेको थियो ।
राजा महेन्द्रकै पालामा लखनउबाट काठमाडौं छिरेर सुरुमा मदिरा व्यवसाय गरेको लारी परिवारले सन् १९७१ देखि होटलको निर्माण सुरु गरेको थियो । तत्कालिन समयमा तीन करोड भारुको लगानीका सञ्चालन भएको पाँच तारे होटल एभरेष्ट भूकम्पपछि बन्द रहेको छ । ठेक्का लगाएर मदिरा बिक्री वितरण हुने जमानामा ठूला खेलाडीमा गनिएका मकबुल अहमद लारीले मदिरा आपूर्ति गर्न लारी डिस्टिलरी स्थापना गरेका थिए ।
मदिराबाट कमाएको पैसाले उनले एभरेस्टका साथै लखनउ र कोलकातामा होटेल व्यवसाय सुरु गरेका थिए । राजपरिवारकै निकटस्थ बन्न सफल भए पनि नेपाली नागरिक बन्न रुचि नदेखाएको लारी परिवारले १९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे तीन करोड रुपैयाँको लगानीमा होटेल दर्ता गराएको थियो । मकबुलले होटेलको आधा स्वामित्व आफ्नै भतिज मसकुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिँदै आफू भने लखनउमै बस्न थालेका थिए ।
मकबुलको निधनपछि मकबुलका छोरा जुब्फर अहमद लारीले बाबुको नाममा रहेको सेयर पाउनुपर्ने माग गरेसँगै एभरेष्ट होटलको स्वामित्वमा विवाद सुरु भएको थियो । मकबुलको नाममा रहेको सेयर भतिजा मशकुरले किर्ते गरेर लिएको भन्दै छोरा मुजफ्फर अहमदले मुद्दा हालेपछि सुरु भएको विवादमा सर्वोच्च अदालतले होटलको सेयर स्वामित्व भतिजा मशकुरको नाममा हुने फैसला सुनाएको हो ।
होटल सञ्चालनमा कामदारले पनि सेवा सुविधाको विषयलाई लिएर आन्दोलन समेत भइरहेको थियो । सोही समयमा गएको विनाशकारी भूकम्पपछि सरकारी अनुगमल टोलीले २०७२ वैशाखमा होटलका केही क्षति नभएको भन्दै हरियो स्टिकर लगाएको थियो । भूकम्पले होटलमा क्षति पु¥याएको भन्दै अनुगमनका लागि होटल व्यवस्थापन पर्यटन विभागमा पुगेको थियो ।
मस्कुर अहमद लारीले चाहेको जस्तो पर्यटन विभागले दोस्रो पटकको अनुगमनमा भने होटल सञ्चालन गर्न नमिल्ने अवस्था रहेको भन्दै रातो स्टिकर टाँसेको । तर, भूकम्पपछि उद्दारका लागि आएका चीन, भारत, बेलायत, क्यानडा आदिको टोली नै होटेलको अतिथि बनेका थिए । भारतीय सञ्चारमाध्यमको फौज नै एभरेस्टमा बसेको थियो । तर दोस्रो पटकको अनुगमनमा रातो स्टिकर लाग्यो, होटेल बन्द भयो ।
रातो स्टिकर टाँसिनु अघिल्लो दिनसम्म होटेलका ११६ रुम, तीनवटा रेस्टुरा, एउटा बार र तीनवटा साना ठूला हल भरिभराउ नै रहेको होटलका एक कर्मचारीको भनाइ छ । तर, व्यवस्थापनले भने जस्तै होटल बन्द गर्नु पर्ने अवस्था पनि थिएन । व्यवस्थापनले पुरानो भवन भत्काएर नयाँ बनाउन कै लागि अनावश्यक रकम दाबी गरेको थियो । बिमा दाबी विवादित भएपछि होटेलको मर्मत र सञ्चालनको काम रोकिएको हो ।
होटेलले भवन पूर्ण क्षती भएको भन्दै ठूलो रकम क्षतीपूर्तीबापत दाबी गर्यो, बिमाले सामान्य क्षतीमात्र पुगेको भन्दै दाबी भुक्तानी गर्न इन्कार गरेपछि होटेलको मर्मत सुरु नै भएन । स्रोतका अनुसार एभरेस्टको व्यवस्थापनले ३९ करोड ७० लाख रुपैयाँ बिमा दाबी गरेको छ । बीमा कम्पनीको सर्भेयरले ‘स्ट्रक्चर’मा क्षती नपुगेको भन्दै सामान्य मर्मत गरी होटेल सञ्चालन गर्न सकिने प्रतिवेदन दिएपछि विवाद सुरु भएको थियो । यसपछि होटेल व्यवस्थापनको नियतमै शंका उठेको छ, हरियो स्टिकर टासिकेपछि दोस्रोचोटीको अनुगमनमा रातो स्टिकर लगाउने काम नै होटेलको मिलेमतोमा भएको अनुमान गरिरहेको छ ।
स्रोतका अनुसार बिमा कम्पनी (ओरियन्टल इन्सुरेन्स) विज्ञ (स्ट्रक्चरल इन्जिनियर) मार्फत निरीक्षण गर्दा पनि होटेलको दाबी स्थापित हुन सकेन । स्थानीयले समेत होटेलले बढी बिमा दाबी गर्न खोजेको भन्दै २०७२ असारमा बिमा समितिमा ज्ञापनपत्र बुझाएका थिए । होटेल र क्यासिनोबीचको सार्वजनिक बाटो पर्खाल लाएर अनधिकृत कब्जा गर्न खोजेपछि स्थानीय–होटेल सम्बन्ध सुमधुर थिएन । स्थानीयको उजुरीमा महानगरले सो पर्खाल भत्काएर बाटो खुलाएको थियो ।
बिमा कम्पनीको सर्भेयरले ‘स्ट्रक्चर’ मा क्षती नपुगेको भन्दै सामान्य मर्मत गरी होटेल सञ्चालन गर्न सकिने प्रतिवेदन दिएपछि विवाद सुरु भएको थियो । ‘सायद बिमाबाट टन्न रकम लिएर भवन नै अर्को बनाउने नियत थियो,’ स्रोतले भन्यो, ‘त्यो पूरा नभएपछि पारिवारिक विवादमा परेका मालिकले होटेल बन्द गरिदिए ।’ होटेलका एक जना पुराना कर्मचारीका अनुसार केही वर्षअघि पनि थोत्रा कार्पेट थुपारेर आगो लगाई २५ लाख रुपैयाँ क्षतीपूर्ति लिइएको थियो ।
प्रकाशित समय : १४:२२ बजे