global ime bank Long Banner Ad

गृहपृष्ठ वृक्षरोपण अभियानमा एक्ला कार्कीले ११ सय बिरुवा रोपे

वृक्षरोपण अभियानमा एक्ला कार्कीले ११ सय बिरुवा रोपे

वृक्षरोपण अभियानमा एक्ला कार्कीले ११ सय बिरुवा रोपे

बेनी, म्याग्दी, ५ पुस (रासस) : म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा दैनिकरुपमा बिरुवा रोप्ने गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले वनजंगलको विनासका कारण बिंग्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा हालसम्म एक हजार १०० बिरुवा रोपेका छन् । ५३ वर्षीय कार्कीले पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।

“रोपेका सबै बिरुवा भएको ठाउँमा समय मिलाएर जान्छु । मान्छेले समेत बिरुवामा क्षति पु¥याएको देखर दुःख लाग्छ”, कार्कीले भने । कार्कीले सदरमुकाम बेनी आसपासका सडकसँगै आफ्नै गाउँसम्म पुग्ने विभिन्न स्थानमा वरपीपलको बिरुवाका साथै विभिन्न प्रजातिका फलफूल पनि लगाएका छन् ।

एक हजार आठवटा वरपीपलका बिरुवा रोपेर ती ठाउँमा चौतारी पनि निर्माण गरिसक्नुभएका कार्कीले बिरुवा रोपण अभियान शुरु गरेका हुन् । चार महिना अघिदेखि शुरु गरेको सो अभियानअन्तर्गत हालसम्म विभिन्न प्रजातिका ११ सय बिरुवा रोपेको कार्कीले बताए ।

उनका अनुसार सात्लेपानी, भसभसे, लव्लीहिल, खबरा, ठूलोखबरालगायतका ठाउँमा वरपीपल, समी, सल्लो, वडहर, टुनिलगायतका बिरुवा रोपिएका छन् ।

बेनीमा कृषिउपज खरिद बिक्री केन्द्र किराना पसल र विभिन्न थरी फलफूलका बिरुवा बिक्री गर्दै आउनुभएका खवरा निवासी कार्कीले यस कार्यबाट आनन्द महसुस भएको बताए ।

“मानिस धर्म गर्न मन्दिर धाउँछन्, दानपुण्य गर्छन्, तर मलाई त्यसो गर्नुभन्दा वातावरणको संरक्षण पनि हुने र मानिसलाई सुविधा पनि हुने वरपीपल रोप्ने र चौतारी बनाउने काम उपयुक्त लाग्यो र सोही गर्न थालेँ” कार्कीले भने । “गाउँमा डोजर लगाएर बाटो खन्दा वन क्षेत्र नासियो, पानीका मुहान सुके, चौतारी, पोखरी पुरिए” कार्कीले भने “यसबाट वातावरणको विनाश भयो, म वातावरण संरक्षणमा जुटेको छु ।”

“यसको असर अहिलेदेखि नै पर्न थालेको छ, छोरा नातिलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउनु नपरोस् भनेर नै मैले यो अभियान थालेको हुँ, धर्मका लागिभन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हुँ”, ५३ वर्षीय कार्कीले भने ।

कार्कीकै सक्रियतामा म्याग्दीखोलाबाट २५० मिटर माथि गाउँमा लिफ्ट सिँचाइको प्रविधि प्रयोग गरी पानीसमेत लगिएको छ । व्यावसायिक कृषिमा सक्रिय कार्कीले वातावरण संरक्षणमा देखाएको सक्रियताबाट स्थानीयले समेत सिको गर्न थालेका छन् ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु