काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शुरु भएन २६ हजार लाभग्राहीको आवास निर्माण

12.92K
shares


सञ्चिता घिमिरे । ललितपुर । भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् । भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी आवास निर्माणका लागि सम्झौता गर्ने लाभग्राहीमध्ये अझै २५ हजार ८३५ लाभग्राहीले घर बनाउन थालेका छैनन् ।
जिल्लाभरमा लाभग्राहीको संख्या २७ हजार ७३३ रहेको छ । तीमध्ये एक हजार ८९८ लाभग्राहीले मात्रै दोस्रो किस्ता लिएका छन् । लाभग्राहीमध्ये १० प्रतिशतले मात्रै दोस्रो किस्ताबापतको रकम बुझेको एकाइमा कार्यरत सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश श्रेष्ठले बताए । उनले भने, ‘लाभग्राहीमध्ये धेरैले दोस्रो किस्ता लिएका छैनन्, कतिले त पहिलो किस्ता नै लिन बाँकी छ ।’
लाभग्राहीमध्ये २२ हजार ९९७ जनासँग सम्झौता भएको थियो । एक्काइस हजार ६५४ लाभग्राहीले पुससम्म पहिलो किस्ताबापतको रकम लिएर पहिलो सम्झौता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्मलाई दोस्रो किस्ता लिने मिति तोकिरहँदा त्यो अवधिमा थोरै संख्यामा भूकम्प प्रभावितले घर बनाउन थालेका श्रेष्ठ बताउँछन् ।
सरकारले दुई महिनाका लागि म्याद थपे पनि अझै धेरैले घर बनाउन सुरसार गरेका छैनन् । ‘विभिन्न समस्याका कारण लाभग्राहीले घर बनाउन सकेका छैनन्,’ श्रेष्ठले भने । सरकारी निकायबाट एक हजार २६० जना र गैरसरकारी संस्थामार्फत ६३८ लाभग्राहीसँग दोस्रो सम्झौता भएको छ । सरकारी निकायबाट २० हजार ८०९ तथा गैरसरकारी संस्थाबाट ८४५ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् ।
पहिले सम्झौता भएको जग्गामा पछि घर बनाउनका लागि नक्सापास नहुँदा धेरैजना लाभग्राहीले अर्कै जग्गामा घर बनाउन निवेदन दिएको श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय निकायबाट नक्सापास नभएको भन्दै पहिले सम्झौता भएको भन्दा अर्कै ठाउँमा घर बनाउन चाहने लाभग्राही धेरै छन्, सम्झौता गरिएका कतिपय लाभग्राही मृत्यु हुँदा समेत समस्या भएको छ ।’
कतिपय लाभग्राही विदेशमा हुँदा घर बनाउन शुरु गर्न नसकेका श्रेष्ठले बताए । कतिपयको नाबालकको नाममा जग्गालगायत सम्पत्ति हुँदा समस्या भएको छ । ‘केही लाभग्राही सम्झौताका लागि आउन नसक्ने छन्,’ उनले भने । घर बनाउन ढिलो भएका समस्याको समाधान गरिरहेको श्रेष्ठको भनाइ छ । गुठीका नाममा जग्गा हुँदा समेत समस्या भएको छ ।
देवीचौरमा जोखिमपूर्ण बस्ती भएकाले लाभग्राहीले घर बनाउन सकेका छैनन् । ६८५ लाभग्रही रहेको सो ठाउँमा ३८५ जनासँग मात्रै समझौता भएको छ । सो ठाउँमा धेरैजसो लाभग्राहीले पहिलो किस्ता नै पाउन सकेका छैनन् । सरकारी निकायको तुलनामा गैरसरकारी संस्थाले निजी आवास निर्माणको काम तीव्रगतिमा अघि बढाएका छन् । गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर निर्माण सकाएर ५५६ लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् भने ६३८ जनाले दोस्रो किस्ता तथा ८८५ जनाले आवास निर्माणका लागि पहिलो सम्झौता गरेका छन् । रासस