nmb bank

गृहपृष्ठ ११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै ओली

११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै ओली

११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै ओली

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।

पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए। मन्त्री बन्न एमालेका सांसदहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । माओवादीमा प्रत्यक्ष जितेका अधिकांशले मन्त्रीको आकांक्षा देखाएका छन् ।

मन्त्रीका लागि आकांक्षी धेरै देखिएका छन् । एमालेभित्र ३० जनाभन्दा बढी नेता मन्त्रीका आकांक्षी छन् । पटक–पटक दोहोरिएकादेखि एकपटक पनि अवसर नपाएका पदाधिकारी तहका नेताहरू मन्त्रीका आकांक्षी छन् । यसपटक अवसर नपाएका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो तहका राम्रा छवि बनाएका नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीमाथि छ ।

प्रदेश १ बाट सचिव योगेश भट्टराई, भानुभक्त ढकाल, यज्ञराज सुनुवार र वसन्त नेम्बाङ आकांक्षी छन् । उनीहरूमध्ये कसैले पनि मन्त्री बन्ने अवसर पाएका छैनन् । २ बाट रघुवीर महासेठ र सुमन प्याकुरेल आकांक्षी छन् । महासेठ एकपटक मन्त्री भइसकेका छन् । ३ बाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, रामवीर मानन्धर, महेश बस्नेत आकांक्षी छन् । उनीहरूमध्ये श्रेष्ठ र बस्नेत एकपटक मन्त्री भइसकेका छन् ।

प्रदेश ४ बाट युवा नेता रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र पद्मा अर्याल छन् । अधिकारी, विश्वकर्मा र अर्यालले अवसर पाए पहिलोपटक मन्त्री बन्नेछन् । ५ बाट भने पदाधिकारी तहकै नेता आकांक्षी छन् । उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी समिति सदस्य छविलाल विश्वकर्मा आकांक्षी छन् । त्यस्तै, ६ बाट धनबहादुर बुढा, नवराज रावत, ७ बाट प्रेम आले, गणेशसिंह ठगुन्ना र नारदमुनी राना थारू मन्त्री बन्ने दौडमा छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजुलाई हराएका कारण राना चर्चामा रहे पनि यसअघि रातो पासपोर्ट दुरुपयोगमा मुछिएका कारण उनलाई बनाउन नहुने भन्दै प्रदेशकै अन्य नेताहरूले लबिङ गरिरहेका छन् ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु