global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा


दीपेन्द्र शर्मा । सुर्खेत । बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित तोस्रा माविमा अध्ययनरत जनक विक यस पटकको एसइई परीक्षाका परीक्षार्थी हुन् । पढिरहेको विद्यालयबाट अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएपछि उनी निकै तनावमा छन् ।
परीक्षालाई मर्यादित बनाउन भन्दै सरकारले होमसेन्टरबाट परीक्षा दिन नपाइने नियम लगाएपछि उनी जस्तै हजारौँ विद्यार्थी समस्यामा परेका हुन् । आफू पढिरहेको विद्यालयबाट परीक्षा दिन नपाएपछि उनी एकदिन टाढाको वीरेन्द्रनगर–११ स्थित शिव मावि धुलियाविटमा परीक्षा दिन आउनुपर्ने बाध्यता आइप¥यो । आर्थिक समस्यामा रहेका उनलाई टाढाबाट परीक्षा दिन आउनु पर्दा निकै समस्या भयो ।
जाजरकोटको त्रिभुवन मावि थाप्लेमा अध्ययनरत विपना शर्माको समस्या पनि उस्तै छ । उनी एकदिन पैदल हिँडेर जिल्लाको शिवशंकर मावि जगतिपुर केन्द्रमा परीक्षा दिन गएका छन् । ‘होटल नहुँदा केही दिनका लागि भए पनि डेरा खोजेर बसेका छाँै, कोठा नपाउँदा पाँचजना एउटै कोठामा कोचिएर बस्नु परेको छ न त खानेपानीको सुविधा छ न बिजुली बत्तीको नै छ,’ उनले भने ।
होम सेन्टरबाट परीक्षा दिन नपाइने सरकारी निर्णयले उनीहरु जस्तै यस प्रदेशका हजारौँ विद्यार्थी यस्तै तनाव र चिन्तामा छन् । होम सेन्टर हटाउने निर्णयले अभिभावकसमेत चिन्तामा छन् । हुम्लाका अभिभावक अर्जुनबहादुर बोहराले परीक्षालाई मर्या्दित बनाउने नाममा परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षाको मुखैमा विद्यार्थी र अभिभावकलाई तनाव र सास्ती दिने काम भएको गुनासो गरे ।

एकजना विद्यार्थीको रु ३० हजार खर्च
कर्णालीका हिमाली तथा विकट दुर्गम जिल्ला जहाँ भौगोलिक विकटता छ एउटा गाउँबाट अर्को गाउँ जान घण्टाँै हिँड्नु पर्ने बाध्यता छ त्यस्ता ठाउँमा होम सेन्टर हटाउने निर्णयले विद्यार्थी र अभिभावकलाई चिन्ता, तनाव र सास्तीमात्र दिने गरेको मुगुका प्रदेश सांसद दानसिंह परियारले बताए । तल्लो तहका शिक्षकले माथिल्लो तहको जेनतेन पठनपाठन गरिरहेका छन् ।
‘धेरै विद्यालयमा अहिलेसम्म आधा कोर्स पनि पूरा भएको छैन,’ उनले भने, ‘एकजना विद्यार्थीको कम्तीमा रु २०/३० हजार खर्च हुन्छ गरीब विद्यार्थीले कसरी उक्त पैसा जुटाउने ?’ शिक्षा ऐनअनुसार विद्यालय तहसम्म घरबाट आधा घण्टाको दूरीमा अध्यापन गराउने व्यवस्था मिलाइने उल्लेख छ तर विद्यार्थीलाई थप सास्ती दिने गरी परीक्षा केन्द्र परिवर्तन गरिनुले बाल अधिकारको समेत हनन हुने सांसद परियारको धारणा छ ।
होम सेन्टरबाट परीक्षा दिन नपाइने भएपछि कर्णाली प्रदेशअन्तर्गतका १७१ विद्यालयका कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाएका छैनन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै परीक्षा नियन्त्रण कार्यालयको परिपत्रअनुसार विगत पाँच वर्षदेखि होम सेन्टरबाट परीक्षा दिन नपाइने निर्णय लागू गरिँदै आएको क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निमित्त प्रमुख धनजित शाहीले बताए ।
उनका अनुसार अधिकांश परीक्षा केन्द्रमा खानेपानी र शौचालयको अभाव, दूषित पानीको प्रयोग, सरसफाइको कमी, गाँसबासको समस्या, दाउराको समस्या, पढाइको चापले कतिपय विद्यार्थीले बासी खाना खान बाध्य हुने गरेका छन् । विगतमा होम सेन्टर परिवर्तन हटाउन विभिन्न जिल्लाबाट आवाज उठे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको शाहीले बताए ।
कर्णाली प्रदेशबाट यस वर्षको एसइई परीक्षामा ३९ हजार ३११ परीक्षार्थी सहभागी भइरहेका छन् । यो वर्षको परीक्षामा सबैभन्दा बढी सुर्खेत जिल्लाबाट सात हजार ९९२ जना र सबैभन्दा कम डोल्पा जिल्लाबाट ६६५ जना नियमित तथा एक्जाम्टेडतर्फका विद्यार्थी सहभागी भइरहेको निमित्त प्रमुख शाहीले जानकारी दिए ।

अर्को वर्षदेखि विद्यार्थीलाई न्याय हुन्छ : मन्त्री रावल
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले होम सेन्टर परिवर्तनले विद्यार्थीलाई सास्ती भएकाले आगामी वर्षदेखि यस्तो दुःख नपाउने गरी निर्णय गरिने बताए । उनले भने, ‘अर्को वर्षदेखि परीक्षा दिनकै लागि अर्को विद्यालय जानु पर्दैन । जनताका छोराछोरीले न्याय पाउने गरी नीति बनाइनेछ ।’ होम सेन्टर परिवर्तनका कारण अर्को ठाउँमा एकजना विद्यार्थीको साथमा थप दुईजना जाने र एउटै कोठामा कोचिएर धेरै बस्नु पर्ने भएकाले पठनपाठनमा त विद्यार्थीको स्वास्थ्यमा समेत समस्या हुने मन्त्री रावलले बताए । रासस

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु