गृहपृष्ठ धुलो र धुवाँले दमरोगी बढ्दै
धुलो र धुवाँले दमरोगी बढ्दै
उपत्यकाको चाँगुनारायण नगरपालिकाभित्र ५० वटा इँटाभट्टा र २६ वटा बालुवाखानी सञ्चालित छन् । ती भट्टाबाट निस्कने धुवाँ तथा खानीबाट निस्कने धुलोका कणले चाँगुनारायणका बासिन्दा एवं भक्तपुरका बासिन्दाको स्वास्थ्यमा कस्तो असर पुगेको होला ?
उसो त पानीपर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने उपत्यकाका अधिकांश सडकबाट निस्कने धुलो तथा यातायातका साधनबाट निस्कने धुवाँको कणले श्वास फेर्दा मानव स्वास्थ्यमा कति गम्भीर असर पारेको होला ? यसको जवाफ कुनै निकायसित छैन ।
सडकपेटीमा हिंड्ने बटुवादेखि सवारी साधनमा गुड्नेका मुखमा मास्क नलगाउने कमै देख्न सकिन्छ । अहिले उपत्यकाभित्र मात्र करीब २४ लाख सवारी साधन गुड्ने गर्दछन् । त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ प्राध्यापक डा. प्रदीपकृष्ण श्रेष्ठ भन्छन्, ‘धुलो र धुवाँको असरले दमरोगीका संख्या दिन प्रतिदिन बढ्दो छ ।’
अर्काेतर्फ धूमपान र खाना पकाउन प्रयोग हुने दाउरा÷गुइँठाबाट उत्पन्न हुने धुवाँले श्वासप्रश्वासका बिरामीको संख्यामा पनि उत्तिकै वृद्धि भइराखेको छ । एक तथ्यांकअनुसार ६६ प्रतिशत घरमा खाना पकाउन वा अन्य प्रयोजनका लागि दाउरा/गुइँठाको प्रयोग हुने गर्दछ ।
विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा करीब नौ लाख ६० हजार दमखोकीका बिरामी भएको देखाएको छ । सर्वेक्षण अगाडि भन्छ, ‘प्रतिलाख जनसंख्यामा चार हजार ८०० दमरोगी छन् ।’
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीको कारणले हुने गर्दछ । नसर्ने रोगमध्ये दमखोकी रोगमा वृद्धि भइराखेको छ । पाको उमेरमा मात्र हुने भनिएको दमखोकीका बिरामी पछिल्लो समय युवा अवस्थामै देखिन लागेको श्वासप्रश्वास विशेषज्ञ डा. करवीरनाथ योगी बताउँछन् ।
डा. योगी भन्छन्, ‘धूमपान र वायु प्रदूषणका असरले दमखोकीका बिरामीको संख्या बढिरहेको छ । शहरी क्षेत्रमा बढ्दो वायु प्रदूषण, धूमपान र ग्रामीण क्षेत्रका दाउरा र गुइँठाबाट निस्कने धुवाँको असरले यसको रोगीमा वृद्धि गरेको हो ।’ अर्काेतर्फ दमखोकीका बिरामीले जीवनभर औषधि सेवन गर्नुपर्ने हुँदा यो उपचार खर्चिलोसमेत हुँदै गएको छ ।
व्यायमले पनि दीर्घखोकीका बिरामीलाई निको पार्दै
दमखोकीका बिरामीलाई औषधिका साथसाथै छातीलाई तन्दुरुस्त बनाउन व्यायामले निको हुने प्रमाणित भएको छ । त्रिवि शिक्षण अस्पताल र जापान सरकार सहयोग नियोग (जाइका)को आर्थिक एवं प्राविधिक सहयोगमा तीन वर्षदेखि सञ्चालित श्वासप्रश्वाससम्बन्धी कार्यक्रमले दीर्घ दमखोकीका बिरामीको जीवनमा व्यायामले सुधार भएको देखाएको हो ।
कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गरेको सोलिड नेपालका प्राविधिक सल्लाहकार डा. खेम कार्कीले दम, खोकीका बिरामीलाई औषधिका अतिरिक्त श्वासप्रश्वासका व्यायाम गराउँदा उनीहरुको जीवनमा गुणस्तरीय सुधार आएको जानकारी दिए ।
व्यायामको उद्देश्य दम, खोकीका बिरामीलाई श्वास फेर्न सहज बनाउनु रहेको छ । तीअन्तर्गत बिरामीलाई आरामदायी अवस्थामा बसाउने, श्वासप्रश्वास व्यायाम र खकार निकाल्ने विधि र मांसपेशीको व्यायाम रहेका छन् ।
प्रकाशित समय : ००:५० बजे


















