गृहपृष्ठ घुससहित फेला परे यातायात कार्यालयका कर्मचारी
घुससहित फेला परे यातायात कार्यालयका कर्मचारी
घुस खाने मुख्य अड्डाको रुपमा परिचित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारी घुस लिँदै गर्दा फेला परेका छन् । यातायात कार्यालयकी सह-लेखापाल कल्पना न्यौपाने र लेखापाल नारायण दुलाल सेवाग्राहीबाट १८ हजार रुपैयाँ घुस लिँदै गर्दा फेला परेका हुन् ।
झापाको दमकस्थित ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रली जडान गर्न लगेका चारवटा ट्रयाक्टरमा लेखा शाखाका कर्मचारीले १८ हजार रुपैयाँ घुस रकम असुलेका हुन् । सरकारले कृषकको सुविधालाई ध्यानमा राखी भन्सार छुटमा आयात गरेका ट्रयाक्टरमा ट्रली जोड्ने अनुमति दिन कर्मचारीले वर्षौंदेखि रकम असुल्दै आएका थिए ।
सोही क्रममा ट्रयाक्टर सोरुम सञ्चालन गर्दै आएका दमकका व्यवसायी अशोककुमार थापाले घुस नखाई कर्मचारीले काम नगर्ने गरेको भन्दै सञ्चारकर्मीसमक्ष दुखेसो पोखेका थिए । थापाकै गुनासोका आधारमा यातायात कार्यालयको गतिविधि निगरानी गर्दा घुस रकमसहित कर्मचारी रंगेहात फेलापरेका हुन् ।
उनीहरुले चारवटा ट्रयाक्टरको नामसारी र ट्रली जडान गर्न दुर्इ हजार रुपैयाँको रसिद पाएका थिए । ट्रयाक्टरको प्राविधिक जाँच गर्न प्राविधिक शाखाका कर्मचारी श्रीधर खड्काले चार हजार रुपैयाँ घुसबापत लिएका थिए । त्यति हुँदासमेत काम नभएपछि ट्रयाक्टरमा ट्रली जडान गर्न कर्मचारी मन्जुर नभएपछि सेवाग्राही लेखाशाखाका कर्मचारीलाई १८ हजार रकम घुस तिर्न बाध्य भएका थिए । तर, कर्मचारीले माग गरेको घुस रकमको नम्बर हामीले व्यवसायीसँगको समन्वयमा लिएका थियौं ।
इन्टरप्राइजेजका कर्मचारी रुबिना थापाले उक्त रकम सह-लेखा अधिकृत कल्पना न्यौपानेलाई घुसबापत १८ हजार रुपैयाँ दिएकी दिइन् । लगत्तै हामी ‘यतिका रकम किन लिएको’ भन्दै लेखा शाखामा पुग्यौं । त्यहाँ पुग्दा उनी घुसबापत लिएको रकम गन्दै थिइन् र हतारहतार टेबलमा पैसा राखिन् ।
न्यौपानेले १८ हजार रुपैयाँ लिएको भए पनि एक हजार रुपैयाँ लेखा अधिकृत नारायणप्रसाद दुलालले लिएको बताइन् । हामीले घुस असुलीका बारेमा प्रश्न गर्न थालेपछि दुलाल शौचालय जाने भन्दै कार्यालयबाट भागेका थिए ।
लामो समयदेखि यसरी नै कार्यालयका प्राविधिक र लेखा शाखाका कर्मचारीले घुस रकम लिने गरेको सोरुमका सञ्चालक थापा बताउँछन् । मेची अञ्चलमा रहेका करिब चार हजार हाराहारी ट्याक्टरमा ट्रली जडान गर्दा यातायात कर्मचारीले यसरी नै रकम असुल्दै आएका छन् ।
प्रकाशित समय : २३:५६ बजे


















