गृहपृष्ठ अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि सियोलले अमेरिका र जापानसँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस)का अनुसार तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व र दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ अभ्यास सञ्चालन गर्नेछन् । अभ्यासमा समुद्री क्षेप्यास्त्र प्रतिरक्षा, हवाई तथा वायु प्रतिरक्षा, पनडुब्बीविरोधी युद्ध र साइबर प्रतिरक्षासम्बन्धी गतिविधि समावेश हुनेछन् ।

जेसीएसले अभ्यास उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराको सामना गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व कायम गर्न तीन देशले वार्षिक रूपमा गर्दै आएको रक्षात्मक अभ्यास भएको बताएको छ । सन् २०२३ को क्याम्प डेभिड शिखर सम्मेलनपछि पहिलोपटक सन् २०२४ जुनमा ‘फ्रिडम एज’ अभ्यास आयोजना गरिएको थियो ।

अमेरिकी प्रशान्त कमान्डकी प्रवक्ता लेफ्टिनेन्ट कमोडोर क्लो मोर्गनले अभ्यासले तीन देशबीचको अन्तरक्रियाशीलता बढाउँदै प्रशान्त क्षेत्रमा रक्षा साझेदारी सुदृढ गर्ने बताइन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन दिएका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद अघि बढाउने प्रयास भइरहेको बताउँदै उक्त अभ्यास किमका लागि ‘निकै अपमानजनक’ रहेको उल्लेख गरेका थिए ।

दक्षिण कोरियाले भने इरानसँगको युद्धका कारण अमेरिकी सैन्य स्रोत तथा जनशक्तिमा परेको दबाबलाई कारण देखाउँदै अर्को संयुक्त अभ्यास ‘साङ्योङ’ रद्द गरेको छ ।

तर उत्तर कोरियाले सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै जवाफी कदम र क्षेप्यास्त्र प्रहारको चेतावनी दिँदै आएको छ । यस अवस्थामा अमेरिका, दक्षिण कोरिया र जापानबीचको ‘फ्रिडम एज’ अभ्यासले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराविरुद्ध तीन देशको सुरक्षा सहकार्यलाई निरन्तरता दिने सङ्केत गरेको छ ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु