गृहपृष्ठ बाढी–पहिरोबाट प्रभावित स्थानमा सेवा सञ्चालनका लागि नेपाल टेलिकमको कार्य जारी
बाढी–पहिरोबाट प्रभावित स्थानमा सेवा सञ्चालनका लागि नेपाल टेलिकमको कार्य जारी
काठमाडौं । २०८३ साल जेठ १० गते (भदौ महिनामा) आएको बाढी–पहिरोले मानवीय तथा भौतिक संरचनामा क्षति पुर्याएसँगै रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवाहरू समेत प्रभावित भएका छन्। सेवा पुनः सुचारु गर्न नेपाल टेलिकमले आवश्यक मर्मत सम्भार कार्य जारी राखेको जनाएको छ।
रसुवा जिल्लाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्न नेपाल टेलिकमले न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर तथा व्याट्री लगायतका उपकरण पठाई न्यौपानेचौर र राम्चे आसपासका केस्पाङ (काउले), ठूलोगाउँ, तादी, लिकुफिरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ, क्याङ्जिन लगायतका क्षेत्रहरूमा सेवा सुचारु गरिएको छ। धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ।
नुवाकोट जिल्लाअन्तर्गतको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङ जिल्लाअन्तर्गत बैरेनी थमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारीहरू परिचालन गरी सेवा सुचारु हुने क्रममा रहेको छ। प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरू निरन्तर रूपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारीहरू परिचालन गरिएको छ।
साथै, हाल सञ्चालनमा रहेका उपर्युक्त जिल्लाका अन्य बीटीएसहरूमा कभरेज र क्षमता विकास तथा अप्टिमाइज गरी प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने कार्य भइरहेको छ।
यस अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट गरी समग्रमा प्रभावित देखिएका १५२ साइट मध्ये ६० साइट सञ्चालनमा आउन बाँकी छन्। बाँकी साइटहरू समेत सञ्चालनमा ल्याउनका लागि आवश्यक कार्य भइरहेको छ।
विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। यसबाट सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ
प्रकाशित समय : १३:२२ बजे


















