गृहपृष्ठ आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई तीन वर्ष जेल हुने कानुन अाउँदै
आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई तीन वर्ष जेल हुने कानुन अाउँदै
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारका लागि टाउकोमाथि तरबार झुन्डिएजस्तै कानुन आउने बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कास्की शाखाको संयोजनमा बिहीबार पोखरामा भएको ‘पत्रकार आचारसंहिता जागरण अभियान’मा श्रेष्ठले पत्रकार आचारसंहिता लागू गर्न कडा कानुन आउन लागेको बताएका हुन् ।
‘भदौ १ देखि डरलाग्दो कानुन आउँदै छ, त्यो तपाईं–हामी सबैको टाउकोमाथि तरबार झुन्डिएजस्तै हुनेछ,’ उनले भने, ‘त्यो कानुनले पत्रकार आचारसंहिता उल्लंघन गरे तीन वर्ष जेल र ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।’ पत्रकारको नाममा पेसागत आचारणविपरीत कुनै काम भए प्रेस काउन्सिल र पत्रकार महासंघ किमार्थ अगाडि नबड्ने कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रस्ट पारे । ‘पत्रकारको अधिकारका लागि लड्छौं तर अराजकका निम्ति हामी लड्न सक्दैनौं,’ उनले भने ।
पत्रकारितामा ९० प्रतिशत राजनीति हावी भएको भन्दै उनले स्वतन्त्र पत्रकारिता र मर्यादित पत्रकारिताको साथमा आधुनिक प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको बताए । ‘हामी पत्रकार कसैले कसैलाई नटर्ने भयौं, न भर, न डर केहि छैन,’ उनले भने, ‘यसले गर्दा हामीमा धेरै विकृति मौलाएको छ, हामीले धेरै सुधार गर्नुपर्नेछ ।’
वरिष्ठ पत्रकार तीर्थ कोइरालाले राजनीतिक नेताको जस्तो अविश्वासको पात्र पत्रकार बन्दै गएमा पत्रकारितामाथि हुने गरेको विश्वास गुम्ने चुनौती बढेको बताए । कर्पोरेट मिडियाले पछिल्लो समय करोड र अर्बको बार्गेनिङ गर्ने गरेको उनको आरोप छ ।
त्यस्तै, सञ्चार विज्ञ टीकाराम राईले प्रविधिले गर्दा पत्रकारितामा चुनौती थपिएको बताए । काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले अनलाइनका कारण समाजमा नकारात्मक प्रभाव र विकृति बढेकाले यसलाई अब नयाँ कानुनले नियमन गर्ने जानकारी गराए । महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकार आचारसंहिताको पहिलो सर्त नै पत्रकारले पालना नगरेको आरोप लगाए ।
प्रकाशित समय : २३:२९ बजे



















