global ime bank Long Banner Ad

गृहपृष्ठ फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौं– प्रतिनिधिसभा नियमावली २०७५ शुक्रबारको संसद बैठकबाट बुहमतले पारित भएको छ । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले सदनमा पेस गरेको नियमावली केही संशोधनसहित पारित भएको हो ।
फौजदारी अभियोग लागेका सांसदलाई उन्मुक्ति र अधिकार नदिने गरी संसद नियमावली बनेको सभापति पोखरेलले दाबी गरेका छन् । संसदमा नियमावली छलफलका लागि प्रस्तुत गर्दै उनले फौजदारी अभियोग लागेका सांसदलाई कुनै उन्मुक्ति, अधिकार र सेवा सुविधा नदिने गरी सर्वदलीय सहमतिमा नियमावली तयार पारिएको जानकारी दिए । नियमावलीमा भने सांसद पद निलम्बन हुने व्यवस्था नराखी सबै अधिकार कटौती गर्ने उल्लेख गरिएको छ ।
संसद् बैठकमा पेस भएको नियमावलीमाथि दफावार छलफलपछि बहुमतले पारित भएको हो । पारित नियमावलीअनुसार अब फौजदारी अभियोग लागेका सांसद पुर्पक्षका लागि थुनामा रहे पनि निलम्वन हुनेछैनन् तर, ससद्को हैसियतबाट कुनै काम गर्न भने पाउँदैनन् । निलम्बनको सट्टा ‘कुनै अधिकार वा उन्मुक्ति अधिकार छैन, पारिश्रमिक र सेवा सुविधा दिइने छैन’ भन्ने वाक्यांश राखिएको छ ।
नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन सहमतिपछि फिर्ता लिएको थियो । यस्तै गरी यशोदा गुरुङ सुवेदी, पूर्णकुमार सुवेदी र नरबहादुर धामीले दर्ता गराएको संशोधन फिर्ता लिएपछि शुक्रबार दिउँसो बसेको संसद बैठकले नियमावली पारित भएको हो । शुक्रबार विहान संसद पद निलम्बन नगर्ने, र अन्य बुँदाहरुमा समेत आएको संशोधन दर्तालाई समेट्ने सहमति भएपछि उनीहरुले आफूले राखेको संशोधन दर्ता फिर्ता लिएर नियमावलीको पक्षमा मतदान गरे ।
फौजदारी अभियोग लागेका सांसदले प्रयोग गर्ने अधिकार नपाउने, अपराधमा अनुसन्धान र छानविनबाट उन्मुक्ति नपाउने र थुनामा रहेको अवधिको पारिश्रमिक नपाउने व्यवस्था नियमावलीमा गरिएको छ । फौजदारी कसुर लागेका सांसद निलम्वन हुने÷नहुने विषयमा दलहरुबीच विवाद भएपछि संसद्को नियमावली लामो समयदेखि अल्झिएर बसेको थियो ।
नियमावलीमा संसदको कार्यसूची अघिल्लै दिन सांसदहरुलाई दिने व्यवस्था राखिएको छ । त्यस्तै सांसदहरुले शून्य समय र विशेष समयमा उठाएको विषयको सरकारले ५ दिनभित्र संबोधन गर्नै पर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ । संसदमा महिनामा दुई पटक सांसदहरुले कार्यकारी प्रमुखलाई सिधा प्रश्न गर्न पाउने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था पनि राखिएको छ । संसदीय समितिका सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था नियमावलीमा राखिएको छ । संसदीय समितिको संख्या भने १० वटा राखिएको छ ।
नियमावलीमा सांसद पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद भएपछि निलम्बन शब्द हटाइएको हो । संसदमा महिनामा दुई पटक सांसदहरुले कार्यकारी प्रमुखलाई सिधा प्रश्न गर्न पाउने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था पनि राखिएको छ ।

संघीय कानुनमा निलम्बनको व्यवस्था गर्ने सहमति
नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सांसदको योग्यता र अयोग्यताको विषय संविधानमा नै किटान गरेकाले नियमावली लगाएर सांसदहरुको निलम्बन गर्न नमिल्ने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय दलको प्रतिनिधिहरुको बैठकले संघीय कानून बनाएर सांसदलाई फौजदारी अभियोग लागेको अवस्थामा निलम्बन गर्न सकिने व्यवस्था गर्ने सहमति जुटेको छ ।
प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदामाथि छलफल गर्दै डा रिजालले संविधानमा सांसदको अयोग्यताको विषय संघीय कानुनले मात्र किटान गर्न सक्ने भन्दै उनले नियमावलीमा निलम्वनको व्यवस्था नराख्ने विषयमा सर्वदलिय सहमति जुटेको बताए । ‘सांसदको अयोग्यताको विषय संघीय कानुनले तोकेको हुनुप¥यो । त्यसको व्यवस्था नियमावलीबाट हुन सक्दैन,’ रिजालले भने, ‘नियमावली संविधानको धारा १०४ बमोजिम संसदको कार्य सञ्चालन गर्नका लागि मात्र बनेको हो । नियमावली त्यसभन्दा अगाडि जान सक्दैन ।’
नियमावलीबाटै सांसद पद समाप्त हुने हो भने ७० वर्षको उपलब्धि खेर फाल्नुसरह हुने डा. रिजालको धारणा थियो । एउटा सांसदले उसका मतदाताले भन्दा बढी सहुलियत पाउनुहुँदैन भन्नेमा आफूहरु सहमत भए पनि संसदको कार्यसञ्चालनका लागि बनेको नियमावलीले सांसदको अयोग्यताबारे व्यवस्था गरेमा गलत नजीर बस्ने उनको तर्क छ । उनले सांसदको अयोग्यतासम्बन्धी सरकारले छुट्टै ऐन ल्याउनुपर्ने बताए । ‘सरकारले अयोग्यता सम्बन्धी संघीय कानुन ल्याओस् । त्यसमा निलम्बनको व्यवस्था ल्याओस् हामी मान्छौं,’ उनले भने, ‘तर संसद सञ्चालन गर्ने नियमावलीमा त्यो कुरा राख्न पाइँदैन ।’ उनले नियमावलीमा संशोधन राख्दै एउटै प्रकृतिका समितिलाई गाभेर संसदका ७ वटा समिति बनाउन प्रस्ताव गरेका थिए । पारित नियमावलीमा संसदका १० समिति रहने व्यवस्था गरिएको छ ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमावलीको ३७ (३) मा उल्लेखित राष्ट्रपतिको सम्बोधनको विषयमा समेत छलफल हुनुपर्ने बताएका छन् । उनले भने, ‘राष्ट्रपतिको निजी विचार नभएकाले संसद्मा छलफलको विषय बन्नुपर्छ ।’ उनले अनुमानित आय र व्ययको बजेट प्रस्तुत गर्दा घाटा बजेट प्रस्तुत गर्न नहुने विषयलाई नियमावलीमा समेट्नुपर्ने तर्क पनि राखे । उनले भने, ‘विदेशी ऋण र सहयोगका आधारमा घाटा बजेट प्रस्तुत गर्न नपाइने नियमावली हुनुपर्छ ।’ यसैगरी, नियमावलीमा उल्लेख भएको संसद् बैठकमा गणपूरक संख्या ३ पटकसम्म नपुगे चौथो पटक सञ्चालन गरिने प्रावधान हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका थिए ।
राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले फौजदारी मुद्दा लागेको व्यक्तिलाई ‘निलम्वन’ गरिने शब्द नियमावलीबाट हटेको भन्दै आपत्ति जनाइन् । ‘सुविधाबाट वञ्चित र पद फरक–फरक पक्ष हो,’ उनले भनिन्, ‘हत्यारा भए पनि माननीय भने रहिरहने ? नियमावली पनि कानुन भएकाले निलम्बन शब्द राख्नुपर्छ ।’ यसैगरी नेकपाकी सांसद यशोदा गुरुङ सुवेदीले नियमावलीमा उल्लेखित ‘सभापति’ शब्दप्रति असहमति जनाउँदै उक्त शब्दले भाषिक लैंगिक विभेद जनाउने बताइन् । उनले सभापतिको ठाउँमा सभाध्यक्ष शब्द राख्नुपर्नेमा जोड दिइन् ।

संवैधानिक निकायमा नियुक्तिको बाटो खुल्यो
प्रतिनिधि सभाले कार्यसञ्चालन नियमावली पारित गरेसँगै प्रधानन्यायाधीश र अख्तियार प्रमुखलगायतका ८ संवैधानिक नियकामा नियुक्तिका लागि बाटो खुलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको नियमावली अभावमा संसदीय सुनवाई विशेष समिति गठन हुन नसकेको र सोही कारण संवैधानिक निकायमा नियुक्त रोकिएको संसदमा बताएका थिए । संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषद्को सिफारिसपछि अनिवार्य संसदीय सुनुवाईको व्यवस्था छ । सुनवाई मार्फत अनुमोदनपछि राष्ट्रपतिले यस्ता निकायमा नियुक्ति गर्ने प्रावधान छ । संसदको नियमावली पारित नभएका कारण संसदीय सुनुवाई समिति बन्न सकेको थिएन । दलहरुबीच नियमावलीमा सहमति भएपछि प्रतिनिधिसभाले शुक्रबार नियमावली पारित गरेको हो । राष्ट्रिय सभाको आइतबार बस्ने बैठकले नियमावली पारित गर्नेछ । सदस्यीय संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभामा ३ सदस्य रहनेछन् ।
संसदीय सनुवाई समिति नहुँदा सर्वोच्चका प्रधान न्यायाधीश, अख्तियार प्रमुख, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु आयोग, मधेसी आयोग जस्ता संवैधानिक आयोगहरुमा आयुक्त नियुक्त हुन सकेको छैन । त्यस्तै विभिन्न देशमा राजदुतहरु समेत खाली रहेका छन् । सर्वोच्च अदालतमा दीपकराज जोशीले कायम मुकायमको रुपमा कार्य सञ्चालन गर्दै आएका छन् । अख्तियारमा नविन घिमिरे कार्यवाहक प्रमुख आयुक्त छन् ।

प्रकाशित समय : १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु