global ime bank Long Banner Ad

गृहपृष्ठ लहड र बाध्यताका तीज भाका

लहड र बाध्यताका तीज भाका

लहड र बाध्यताका तीज भाका

 

हिन्दू नारीका लागि तीज अझै एक महिना बाँकी छ तर कलाकारलाई अहिले तीजको भ्याइनभ्याई छ । तीजका बेला महिलाहरुले गच्छेअनुसारको खर्च गर्न प्रतिस्पर्धा हुन्छ, त्योभन्दा ठूलो प्रतिस्पर्धा लोक कलाकारबीच भइरहेको छ । तीजका गीत निकाल्न गायक–गायिकाबीच प्रतिस्पर्धा चर्को छ । ‘तीजको गीत नगाई र भिडियो नल्याई चर्चामा आइँदैन’ भन्ने सोचाइ सबैजसो कलाकारमा छ । यसैले पनि चल्तीका गायक–गायिकादेखि नवोदित कलाकार सबै अहिले तीज गीत निकाल्नमै व्यस्त छन् ।

 

सांसददेखि व्यपारीसम्मले ल्याए तीजका कोसेली

साउन लागेलगतै कलाकारबीच गीत सार्वजनिक गर्न तँछाडमछाड चलेको छ । पुरुष र महिला दुवै कलाकार होडबाजीमा छन् । तीज गीत निकाल्ने दौडमा सांसददेखि शिक्षक, कलाकार तथा पत्रकार र व्यवसायीसमेत छन् । सांसद एवं गायिका कोमल वलीले पनि तीज गीत ल्याएकी छन् ।

teej-newskarobar

 

केही वर्षअघि ‘पोइला जान पाम्’ गीत ल्याएकी उनले यसपटक ‘माननीयज्यू’ बोलको गीत ल्याएकी हुन् । आफू माननीय भइसकेकाले राजनीतिमा भ्रष्टाचार नगर्ने सन्देश उनले गीतमार्फत दिएकी छन् ।

यस्तै, खुमन अधिकारी र विष्णु खत्रीको ‘उल्टो सुनेर’ भन्ने कमेडी गीत पनि खुबै चर्चामा छ । पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीको गीत पनि हेर्न/सुन्न लायक छ । उनीहरुले बुढेसकालको कथा समेटेर ‘लौरी हरायो’ गीत ल्याएका छन् ।

गायिका सिन्धु मल्लले पनि लामो समयपछि यसपटक तीजको कोसेली ल्याएकी छन् । ‘उनकै लागि हो’ भन्ने गीतको युट्युब भ्युअर्ससमेत धेरै छ । गायक रामचन्द्र चन्दले पनि मौलिक भाकामा गाएका छन् । गुल्मी घर भएका उनले ‘तम्घासबाट हिँडेको गाडी’ भन्ने गीत ल्याएका छन् । खुमन अधिकारी र रामचन्द्रले गाएको सो गीत युट्युबमा ट्रेन्डिङ नै भइरहेको छ । ‘मेरो तीजका गीत मौलिक छन्, यसपाली पुरानो लयलाई नयाँ शब्दमा ढालेर बनाएको छु,’ गायक रामचन्द्र चन्द भन्छन् ।

teej3-newskarobar

शिक्षिका एवं गायिका कल्पना कुसुमले यसपटक पनि तीज गीतलाई निरन्तरता दिएकी छन् । ‘संगिनी’ गीत उनको चौथो तीज गीत हो । गायक प्रकाश सपुतको ‘नौनरंगी सपना र विष्णु माझीको पुतलीको भट्टी’ बोलको गीत निकै मार्मिक छन् । यस्तै, खुमन अधिकारीको ‘बरी लै’ बोलको गीत पनि चर्चामा छ ।

 

चेतनामूलक गीत

मौलिक, भड्किलामात्र होइन, केही कमेडी तीज गीत पनि छन् । गर्भपतनसम्बन्धी विषय समेटेर विनोद पाण्डेले हास्य चेतनामूलक गीत ल्याएका छन् । जुन गीतमा मेरी बास्सै टेलिसिरियलका कलाकारको अभिनय छ । कमेडी सिरियल जिरे र्खुानी युनिटको अभिनयमा अर्काे तीज गीत बजारमा आएको छ । सन्तोस केसी र राधिका हमालले गाएको ‘आमा बोलको गीत’ निकै रमाइलो छ ।

 

मोफसलबाटै तीज गीत

मोफसलमै बसेर पनि कलाकारहरु तीज गीत निकान व्यस्त छन् । पोखरा, बुटवल लगायतका सहरमै अचेल गीत रेकर्डिङ स्टुडियो र म्युजिक कम्पनी खुलेका छन् । बुटवलमा रहेकी गायिका शिलु भट्टराई ‘उर्मिला’ ले यो वर्षमात्रै १० वटा गीतमा स्वर दिन भ्याइन् । शिलुले ‘चम्के तरुनी’ बोलको गीत आफैंले निकालिन् भने अरु २० वटा गीतमा स्वर दिइन् ।

 

पत्रकारका तीज भाका

सञ्चारकर्मी कल्पना रेग्मी, निरु गौतमलगायतले तीज गीत ल्याएका छन् । रेडियो अन्नपूर्ण नेपाल र रमाइलो टिभीकी लोक कार्यक्रम प्रस्तोता कल्पना रेग्मीले ‘हे आमा’ नामको गीत ल्याएकी छन् । रेग्मीका गीतमा भने मौलिक संस्कृति भेटिन्छ । ‘तीजलाई तीजकै रूपमा मनाउनुपर्छ र मौलिकता भुल्नु हुदैन, यसैले संस्कृति जर्गेना गर्ने उद्देश्यले मैले तीज गीत ल्याएको छु,’ कल्पना भन्छिन् । निरु गौतमले भने पश्चिम नेपालको गुल्मी र अर्घाखाँचीमा प्रख्यात भाका छोपेर ‘जमुनाको तीर’ गीत निकालेकी हुन् । तीज गीतका नाममा रत्यौली भाका भित्रिएकाले विकृति रोक्न यस्तो गीत बजारमा ल्याएको निरु बताउँछिन् ।

teej2-newskarobar

 

आम्दानीको भर युट्युब र विदेशका स्टेज

लगानी गरेपछि प्रतिफल पाउने अपेक्षा हुन्छ । तर, तीज गीत निकाल्न लाखौं रुपैयाँ खर्च गरे पनि आम्दानी हुँदैन । केही–केहीले युट्युबबाट केही रकम आम्दानी गर्छन् । थोरै मात्रै कलाकारलाई विदेशमा कार्यक्रम आयोजकले बोलाउँछन् । अचेल सिआरबिटीको चलन हराइसकेकाले युट्युब र स्टेज कार्यक्रममात्र आम्दानीको स्रोत बन्ने कलाकार बताउँछन् ।

मुख्यतः उनीहरु विदेशमा कार्यक्रम गर्ने र यही मौकामा लगानी उठाउनेमा केन्द्रित हुन्छन् । तर, त्यो चाहना थोरैको मात्र पूरा हुन्छ । चाहना म्युजिक कम्पनीका सञ्चालक सहदेव कोइराला भन्छन्, ‘तीजको लगानी त के उठ्थ्यो, चेलीहरूलाई उपहार दिएको हो, लगानी हुन्छ, आम्दानी हुँदैन ।’ गीत चल्यो भने युट्युबबाट भने राम्रो आम्दानी हुने उनले बताए ।

कलाकारहरु तीजमा घाटाको व्यापार गर्न किन बाध्य छन् । अधिकांश नयाँ कलाकार रहरका लागि एल्बम निकाल्छन् । ‘मेरो पनि एल्बम बजारमा आएको छ है भन्ने देखाउनका लागि लगानी गर्नेहरु धेरै छन् । चल्तीका कलाकारका लागि भने बाध्यता जस्तै नै छ,’ गायक खुमन अधिकारी भन्छन्, ‘एक साल तीजका गीत नल्याउँदा हराइएला कि भन्ने डर उनीहरुमा छ । अर्काेतिर, चल्तीका कलाकारको एल्बम दर्शक तथा श्रोताका लागि पनि प्रतीक्षामा रहने भएकाले यो उनीहरुको बाध्यता पनि हो ।’

कसैमा गीतमा स्वर दिने रहर त कसैमा म्युजिक भिडियोमा अनुहार देखाउने रहर हुन्छ । चलेका गायक–गायिकाले भने निरन्तताकै लागि गीत ल्याउने गायिका राधिका हमाल बताउँछिन् । आफ्नो पछिल्लो तीज कोसेली पनि निरन्तरताकै सिलसिला भएको उनको भनाइ छ ।

 

भ्युअर बढाउन भड्किला गीत

सबै तीजका भाकामा माइती र दलका कुरा छैनन् । युट्युबमा दर्शक बढाउन र चर्चाका लागि बाह्य विषयसमेत धेरैले समेटेका छन् । युट्युबमा धेरै भ्युअर बढाएर पैसा कमाउन केहीले भड्किला गीतसमेत बनाएका छन् । तर, राम्रो सिर्जना गर्नसके मौलिक गीतले पनि पैसा कमाउने गायक बद्री पंगेनी बताउँछन् । ‘शब्द र भिडियो उच्छृंखल र भड्किलो बनाउनुपर्छ भन्ने मलाई लाग्दैन,’ उनी भन्छन्, ‘राम्रो, सभ्य शब्द पनि प्रयोग गर्न सकिन्छ, त्यस्ता गीत पनि लोकप्रिय र जीवन्त भएका छन् ।’

 

(सबै तस्बिरहरू गुगलबाट)

प्रकाशित समय : २३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु