गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल
वि.सं.२०७५ साउन ३० बुधवार १८:३६
shares

गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर मंगलबार रिटेलर्स मिट सम्पन्न गरेको छ । रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब ३ सय मेकानिक्स तथा लुब्रिकेन्ट्स विक्रेता सहभागी थिए ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सहरुले सही लुब्रिकेन्टको पहिचान गर्नुपर्ने बताए । सडक सुरक्षाका लागि कन्डिसनयुक्त सवारी साधन सडकमा गुडाउनका लागि मेकानिक्सको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष प्रकाश कपुरी, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्य र पशुपति माइक्रो बस व्यवसायी संघका अध्यक्ष मधुसूदन आचार्यले देश निर्माणमा मेकानिक्सहरुको महत्वपूर्ण भूमिका भएकाले स्तरीय पार्ट्स र लुब्रिकेन्ट उपलब्ध गराएर रिटेलरहरुलाई सडक सुरक्षा र देश निर्माणमा भूमिका खेल्न आग्रह गरे ।
एभ ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले आगामी योजनाबारे जानकारी दिँदै सधैं जस्तै आगामी दिनमा पनि साथ दिन रिटेलर्सहरुलाई आग्रह गरे । गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्रले गल्फ लुब्रिकेन्टको उत्पादन प्रक्रिया र गुणस्तर तथा यसको समग्र बजार अवस्थाबारे जानकारी दिए ।
नेपाल ल्युब आयलले एभ ट्रेडिङअन्तर्गतका डिलरमध्ये आर्थिक वर्ष २०७४/७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आर्थिक वर्ष २०७५/७६ का लागि समेत प्रतिबद्धता व्यक्त गर्ने वितरकलाई पुरस्कार वितरण गरेको छ । एस एन्ड एस ट्रेड कन्सर्न, अबी ट्रेड लिंक र डीएस ट्रेड लिंकले सुजुकी भिटारा ब्रेजा कार पाएका हुन् ।
त्यसैगरी, एएन मोटर पार्ट्स, कारमान्डु मोटर्स, सिन्धुली अटो र अटो एभले रोयल इन्फिल्ड बुलेट ३५० सीसी बाइक पाएका छन् । अनि एभ मोटर्स, सोनित अटो पार्ट्स र धनश्री अटो केयरले यामाहा सलुटो बाइक पाएका छन् । ताजपुरिया ट्रेड लिंक, अमन ट्रेड लिंक र कमल ट्रेड लिंकले थाइल्यान्ड भ्रमण गर्ने मौका पाउने भएका छन् ।
रिटेलरहरुलाई यी वाहेक एलईडी टीभी, ल्यापटप, केटल आदि समेत प्रदान गरिएको थियो । विजेताहरुलाई नेपाल ल्युब आयलका सेल्स म्यानेजर दिवाकर मिश्र, एकाउन्ट तथा फाइनान्स म्यानेजर रामप्रसाद फुँयाल, मार्केटिङ एन्ड ब्रान्ड हेड रविन्द्र उपाध्याय र मार्केटिङ म्यानेजर प्रद्युम्न न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाल ल्युब आयलले ३२ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री–वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।

























