global ime bank Long Banner Ad

गृहपृष्ठ व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताएका छन् ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मोदीले हिमालय पर्वत शृंखला र हिन्द महासागरबीचको बंगालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व राख्ने उल्लेख गरे । बिम्स्टेकमा बंगलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य छन् । मोदीको यो चौथो नेपाल भ्रमण हो ।

‘भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो,’ उनले भने, ‘हामी सबै विकासशील देश हौं, शान्ति र समृद्धि सबैको प्राथमिकता हो तर आजको अन्तर्सम्बन्धित विश्वमा यो काम एक्लैले गर्न सकिँदैन, सबैको साथ र सहयोग आवश्यक छ ।’ व्यापार, अर्थतन्त्र, यातायात, डिजिटल र जनस्तरको सम्बन्धको सम्पर्क सञ्जालमा काम गर्नुपर्ने मोदीको भनाइ थियो । उनले बिमस्टेक सदस्य मुलुकका महिला सांसदबीच सम्पर्क सञ्जाल बनाउन आवश्यक रहेको बताए ।

बिमस्टेक सदस्य राष्ट्रका उद्यमीबीच सम्पर्क र सञ्जाल बढाउन भारत बिम्स्टेकस्तरको सम्मेलन आयोजना गर्न तयार रहेको मोदीको भनाई थियो । उनले सदस्य मुलुकमध्ये अधिकांश कृषिप्रधान देश भएको र जलवायु परिवर्तनका असरसँग जुधिरहेका सन्दर्भमा कृषि अनुसन्धान र शिक्षा विकासमा सहयोगका लागि भारतले यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।

डिजिटल सम्पर्क सञ्जालको क्षेत्रमा भारत आफ्नो राष्ट्रिय ज्ञान सञ्जाल श्रीलङ्का, बङ्गलादेश, भूटान र नेपालमा बढाउन प्रतिबद्ध रहेको बताएका उनले यसलाई म्यान्मा र थाइल्याण्डसम्म बढाउने इच्छा व्यक्त गरे । ‘म आशा गर्छु यस वर्ष अक्टोबरमा नयाँदिल्लीमा हुने ‘इण्डिया मोबाइल कांग्र्रेस’मा तपाईंहरु सहभागी हुनुहुनेछ,’ उनले भने ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० अगष्टमा भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै सबै बिम्स्टेक सदस्य मुलुकलाई अतिथिका रुपमा सहभागी हुन निम्तो दिए । बंगालको खाडी क्षेत्रका कलासंस्कृति, सामुद्रिक कानून र अन्य विषयमा शोध गर्नका लागि नालन्दा विश्वविद्यालयमा ‘बंगालको खाडी अध्ययन केन्द्र’ स्थापना गरिने उनको भनाई थियो ।

यस क्षेत्रका सबै मुलुकको लामो इतिहास रहेको र इतिहाससँग जोडिएका पर्यटनका सम्भावनाको पूरै लाभ उठाउन पुरातात्विक सम्पदाको पुनरुत्थानमा सहयोग गर्र्नुपर्नेमा मोदीले जोड दिए । हिमालय र बङ्गालको खाडीसँग जोडिएको यस क्षेत्रका देशले पटक पटक प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै मोदीले यसमा एका अर्काको साथ र सहयोगमा मानवीय सहायता तथा विपद् पुनःस्थापनाको प्रयास आवश्यक रहेकामा उल्लेख गरे ।

प्रकाशित समय : ०१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु