global ime bank Long Banner Ad

गृहपृष्ठ स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बिमस्टेकको शिखर सम्मेलन आयोजनाको अवसर पाएको छ । ‘शान्त, समृद्ध र दिगोपनाउन्मुख बंगालको खाडीको क्षेत्र’ भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले उद्घाटन सम्बोधनका क्रममा नेपाल सरकार एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार व्यक्त गरे ।

सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सम्मेलनमा सहभागी विशिष्ट पाहुना यो शिखर सम्मेलनमा पहिलो पटक सहभागी भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो लागि बिमस्टेक शिखर सम्मेलन पहिलो भएको भन्दै यसलाई सदुपयोग गर्ने क्रममा सदस्य राष्ट्रका महिला सांसद र युवाका अलगअलग सम्मेलन गर्नेलगायत नयाँ कार्यसूची प्रस्ताव गरेका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा वर्तमान सरकारले छोटो अवधिको तयारीका बीच काठमाडौंमा यसप्रकारको पहिलो क्षेत्रीय सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनको उद्घटनअघि बुद्धको जन्मस्थल नेपालको राष्ट्राध्यक्षका हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा संयुक्त भेटवार्तासहित दिवाभोजको आयोजना गरी विशिष्ट अतिथिहरुप्रति हार्दिकता दर्शाएकी थिइन् ।

सन् १९९८ देखि नेपाल यसको आमन्त्रित र सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा भएको छैटौं मन्त्रिस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । यसअघि ‘सहकार्य, सहिष्णुता र समृद्धि’ को मूल नारासहित म्यान्माको राजधानी नेपिटमा सन् २०१४ को मार्चमा बिमस्टेकको तेस्रो शिखर सम्मेलन भएको थियो । बिम्स्टेकको अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ ।

सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा बिम्स्टेकको नामबाट बंगलादेश, भारत, श्रीलङ्का र थाइल्याण्डबीच क्षेत्रीय सञ्जाल गठन भएको थियो । सन् १९९७ डिसेम्बर २२ को मन्त्रिस्तरीय बैठकबाट म्यान्मा यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिमस्टेकको नामकरणलाई अनुमोदन गरेको थियो । यसको स्थायी सचिवालय बंगलदेशको राजधानी ढाकामा छ ।

यसअघि सन् २००४ जुलाई ३१ मा थाइल्याण्डको बैंकक, २००८ को १३ नोभेम्बरमा भारतको नयाँदिल्ली र २०१४ को मार्च ४ मा म्यान्माको नेपिटमा बिमस्टेक शिखर सम्मेलन भएको थियो । सन् २०१६ मा भारतको गोवामा बिम्स्टेकको आउटरिच सम्मेलन सम्पन्न भएको थियो ।

बिमस्टेकका मुख्य १४ उद्देश्य र कार्यसूचीमा वाणिज्य, लगानी, प्रविधि, पर्यटन, मानवीय स्रोत विकास, कृषि, मत्स्यपालन, यातायात र सञ्चार, कपडा र छालाजन्य उद्योग आदि छन् । यसले शिक्षा, प्राविधिक व्यावसायिक क्षेत्रमा तालीमकाका साथै आर्थिक, सामाजिक प्राविधिक र वैज्ञानिक क्षेत्र र साझा स्वार्थका विषयमा सहकार्य गर्नेछ ।

बिमस्टेक मुलुकमा करीब एक अरब ६० करोड जनसंख्या छन् विश्व भू–भागको २२ प्रतिशत हिस्सा यसले ओगट्छ । यस क्षेत्रको सरदर आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत छ ।

यसले दक्षिण र दक्षिण पूर्वी मुलुकबीच पुलको काम गर्नेछ । यो सार्क र आसियान जस्ता क्षेत्रीय संयन्त्रका लागि पनि अन्तर्राष्ट्रिय सहकार्य मानिन्छ । सार्कमा सदस्य रहेका अधिकांश सदस्य बिमस्टेकमा भएकाले सार्क र यसको कामको दोहोरोपना वा कुनै एक संयन्त्र सक्रिय भएमा अर्को निष्क्रिय हुन सक्ने खतरा विज्ञहरुले औंल्याएका छन् । सार्कका सदस्यमध्ये पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान बिमस्टेकमा छैनन् ।

प्रकाशित समय : ०१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु