गृहपृष्ठ आदर्श कपको उपाधि एन्फा स्याङ्जालाई
आदर्श कपको उपाधि एन्फा स्याङ्जालाई
लेखनाथको भण्डारढिक सैनिक बस्तीमा बुधबार सम्पन्न रिद्धिसिद्धि सिमेन्ट २४औं आदर्श कप फुटबल प्रतियोगिता २०७५ को उपाधि एन्फा स्याङ्जाले जितेको छ । भण्डारढिकको फुटबल खेल मैदानमा भएको फाइनल खेलमा एन्फा स्याङ्जाले आयोजक आदर्श क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
विजेता टोलीले नगद ३ लाख पुरस्कार पाएको छ । उपविजेता आदर्शले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । एन्फा स्याङ्जाको जितमा म्यान अफ दि म्याच घोषित मार्टिन, निरज बस्नेत र विश्वास श्रेष्ठले एक/एक गोल गरे । आदर्शका विमल रानाले खेलको २५औं मिनेटमा पहिलो गोल गरे पनि बाँकी समयमा सम्हालिन नसक्दा अन्ततः एन्फा स्याङ्जालाई नतिजा सुम्पिनुपर्यो ।
तीनजना विदेशीसहित ‘ए’ डिभिजनका खेलाडीले मैदान भरेको स्याङ्जाविरुद्ध आदर्शले थप गोल गर्न सकेन । मार्टिनले खेलको ३५औं मिनेटमा कर्नर बललाई हेड गोल गरी खेल बराबरीमा पुर्याएका थिए । बस्नेतले फ्रिकिकमा गोल गरी जित सुनिश्चित पार्दा खेलको ८८औैं मिनेटमा श्रेष्ठले मार्टिनको पासमा गोल गरी अन्तर फराकिलो पारे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी आदर्शका भिसन गुरुङ घोषित भए । उनले उपाधिसहित नगद २५ हजार प्राप्त गरे । त्यसैगरी, प्रतियोगितामा चार गोल गरेका आदर्शका बेलप्रसाद गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे, उत्कृष्ट डिफेन्समा आदर्शकै अजित भण्डारी, उत्कृष्ट गोलरक्षकमा स्याङ्जाका राजाबाबु थापा र उत्कृष्ट प्ले मेकरमा स्याङ्जाका लक्ष्मण रुचाल घोषित भए । उनीहरुलाई जनही नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिएको क्लबका सचिव पदम गुरुङले जानकारी दिए ।
प्रकाशित समय : १३:५० बजे



















