गृहपृष्ठ बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा
बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा
म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।
बाढीले घ्याँसीखर्क्स्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनीे क्षत्ती पु¥याएको छ । खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताए ।
करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पु¥याएको छ । सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल बाढीले बगाएको प्रमुुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।
करिब पचास मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो । यसैगरी उक्त गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।
कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ बारीबेनीदेखि बगरफाँटतर्फ जाने करीब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताए । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
(रासस)
प्रकाशित समय : १३:४४ बजे



















