global ime bank Long Banner Ad

गृहपृष्ठ एपीएफलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

एपीएफलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

एपीएफलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

सशस्त्र प्रहरी बल (एपीएफ)ले यो वर्ष पनि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा भएको लामाचौर तीज महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा एपीएफले चिरपरिचित प्रतिद्वन्द्वी काठमाडौंको न्यु डायमन्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको खेलमा एपीएफले २५–२०, १८–२५, २५–१७ र २५–२१ को सेटमा न्यु डायमन्डलाई पराजित गरेको हो । पोखरेली दर्शकको हुटिङ पाएको न्यु डायमन्डले दोस्रो सेटमा जित हासिल गरे पनि अन्य सेटमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा यो वर्ष पनि उपविजेतामा सीमित भएको हो । वर्षा भएपछि खेल पटक–पटक स्थगित भएको थियो ।

तेस्रो स्थानको लागि बुधबार नै भएको खेलमा चितवन टाइगरलाई र त्रिभुवन आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको छ । आर्मीले चितवन टाइगरलाई २५–१८, २५–१८ र २५–१८ को सेटमा पराजित गरेको हो ।

भलिबलमा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार पुरस्कार प्राप्त गरिन् । त्यसैगरी, बेस्ट स्पाइकर न्यु डायमन्डकी प्रतिमा माली, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, उत्कृष्ट सेटरमा एपीएफकी शशी चौधरी, उत्कृष्ट डिफेन्समा न्यु डायमन्डकी सैलेन्द्र श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा एपीएफका ज्ञानेन्द्र विष्ट, उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी झरना श्रेष्ठ, क्विक स्पाइकरमा एपीएफकी हिरा केसी घोषित भइन् । विभिन्न विधामा उत्कृष्ट भएकालाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

विजेता टिमले एक लाख र उपविजेताले ६५ हजार प्राप्त गरेको छ । तेस्रो भएको त्रिभुवन आर्मीले २५ हजार पायो । प्रतियोगितामा पाँच टिम सहभागी थिए ।

त्यसैगरी, महोत्सवमा आयोजना भएको खुला तीज गीत प्रतियोगितामा शिवालय तमु आमा समूह प्रथम भएको छ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु