बेनी–जोमसोम सडक अवरुद्ध, पर्यटक र तीर्थयात्रीको बिचल्ली
वि.सं.२०७५ भदौ २९ शुक्रवार १७:५५
shares

बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ ।
सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनार्थी र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । दर्जनभन्दा बढी स्थानमा पहिरो जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु अलपत्र परेका छन् ।
म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक-खण्डको धेरै ठाउँमा पहिरो खसेको छ । लेते खोला नजिकै करीब १० मिटर सडक बगाएको छ भने बेलिब्रिज कटानको जोखिममा परेको छ ।
७६ किलोमिटरको सो सडकमा गाडीबाट यात्रा गर्न तीन दिनसम्म लागेको स्थानीयवासीको गुनासो छ । यसैबीच, सडक अवरुद्ध बनेपछि अलपत्र भएका करिब सय भारतीय तीर्थयात्रीलाई भने बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मुस्ताङका उत्पादित स्याउको ढुवानी रोकिदा कृषकलाइ कुहिने चिन्ताले सताएको छ । धेरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन केही दिन लाग्ने इञ्जिनीयर प्रदीप निरौलाले जानकारी दिए ।

























