उदयपुर : उपप्रमुख र वडाअध्यक्ष प्रकरणबारे प्रतिवेदन तयार
वि.सं.२०७५ भदौ १८ सोमवार १८:४३
shares

उदयपुरको बेलका नगरपालिकाका ‘उपप्रमुख र वडाअध्यक्ष प्रकरण’मा छानबिन गर्न नगरपालिकाद्वारा गठित छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । समितिले मंगलबार विहान ७ बजे प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । सोमबार अपरान्ह ३ बजे नै प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि नगरप्रमुखको कार्यव्यस्तताले मंगलबार विहान सार्वजनिक गर्न लागिएको वडा नम्बर ९ का वडाअध्यक्षसमेत रहेका समिति संयोजक मोहन घिमिरेले जानकारी दिए । घिमिरेले घटनासँग जोडिएका सबै व्यक्तिसँग बयान लिएर प्रतिवेदन तयार पारिएको बताए ।
गत साउन १८ गते नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीको डेरामा वडा नम्बर ४ का वडा अध्यक्ष कोठामा भेटिएपछि उनीहरुमाथि ‘लज्जास्पद आरोप’ लगाउँदै श्रीमान शिवरामले राजकुमारीलाई कुटपीट गरेका थिए भने दंगालमाथि आक्रमणको प्रयास गरेका थिए । नजिकै कार्यालय हुँदाहुँदै निजी कोठामा बसेर काम गरेको तथा उपप्रमुखले आफ्नो श्रीमानलाई कार्बाही गर्नको साटो जोगाएको भन्दै नागरिकस्तरबाट चर्को विरोध भएपछि नगरप्रमुख दुर्गाकुमार थापाले वडा नम्बर ९ का वडाअध्यक्ष घिमिरलेको संयोजकत्वमा साउन २४ गते छानबिन समिति बनाएका थिए ।
समितिलाई १५ दिनको कार्यादेश दिइए पनि झण्डै एक महिनापछि प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । स्रोतका अनुसार विषयलाई ठूलो नबनाई ‘डिसमिस’ पार्न समितिमाथि दबाब थियो । ‘केन्द्रसम्म यो कुरा पुगेको रहेछ,’ स्रोतले भन्यो, ‘समितिलाई उतैबाट पनि सामान्य किसिमको दबाब परेको देखिन्छ ।’
के छ प्रतिवेदनमा ?
समितिले तयार पारेको प्रतिवेदनमा उपप्रमुख चौधरी र वडा अध्यक्ष दंगाललाई सचेत गराइएको बुझिएको छ । ‘कार्यालय नजिकै हुँदाहुँदै कोठामा बसेर गफ गर्न हुँदैन थियो, आगामी दिनमा यस्तो काम नदोर्याउन सचेत गराइएको छ,’ स्रोतले भन्यो, ‘कुटपिटमा संलग्न शिवराम चौधरीलाई आवश्यक कार्बाहीको लागि पनि सिफारिस गरिएको छ ।’ कार्यालयको काम कार्यालयमा र घरको काम घरमै गर्न उपप्रमुखलाई भनिएको छ ।

























