global ime bank Long Banner Ad

गृहपृष्ठ मन्थलीमा कोही बेरोजगार छैन : नगरप्रमुख बस्नेत

मन्थलीमा कोही बेरोजगार छैन : नगरप्रमुख बस्नेत

मन्थलीमा कोही बेरोजगार छैन : नगरप्रमुख बस्नेत

संघीयता कार्यान्वयनको शिलशीलामा स्थानीय निकाय स्थानीय तहमा परिणत भए पछि सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्यो भनेर भनियो । तर स्थानीय तहले लगाएको करको व्यापक आलोचना भइरहेको छ । जनताको करमा जनप्रतिनीधीको मोजमस्ती पनि बढेकै छ । जनताको नजरमा जनप्रतिनीधिहरु आलोचित भइरहेका छन् । जनतालाई करको मार,आवश्यकता,बाध्यता की रहर हो । मन्थली नगरपालिकाको मेयर रमेशकुमार बस्नेतसँग न्युज कारोबारका सञ्जय श्रेष्ठले गरेको कुराकानी :

 

 

स्थानीय तहले आवश्यकता भन्दा बढी कर लिएको आरोप छ, तपाईंहरुकामा के छ ?
पहिलो कुरा यो आरोप आरोपकै लागि मात्र हो । स्थानीय तहले जनताको आवश्यकता र क्षमता भन्दा बाहिर गएर कर लिएका छैनन् । मन्थलीको हकमा ३५ दिनभित्र गर्नुपर्ने जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता जस्ता सेवा निःशुल्क गरिएको छ । मन्थली नगरपालिकामा सवारी पार्किङ्, फोहोर मैला, सम्पत्ती कर भने लगाइएको छ । ३५ दिनभित्र लिनुपर्ने सेवा उक्त समय नाँघेपछि लिँदा भने १०० रुपैयाँ शुल्क लाग्छ । ढुङ्गा, गिटी, बालुवाहरुमा पनि कर लगाउने तयारी गरिरहेको छौं । गत वर्ष २ करोड ४० लाखको लक्ष्य राखिएकाकामा १ करोड ६३ लाख उठाएका छौं । अब यो आर्थिक बर्षमा पहिलेको लक्ष्य पूरा गर्छौं भन्ने आशा गरेको छु ।

 

मन्थली नगरपालिकामा यति धेरै कर लगाउनुको कारण के हो ?
मन्थली नगरपालिकामा १४ वडा मध्ये ८ ओटामा शहरी स्वास्थ्य केन्द्रहरु छन् । ति स्वास्थ्य केन्द्रहरुमा कर्मचारी राख्नै पर्छ, आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्नै पर्छ । गरपालिकाले एक आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा मात्र ८४ लाख खर्च गर्नु पर्छ । बाँकी अन्य विषयहरुमा पनि खर्च गर्नु पर्छ । नगरपालिकाले हेर्ने गरी अहिले धेरै विषय तोकिएको छ । तिनीहरुको व्यवस्थापन सबै नगरपालिकाको आन्तरिक स्रोतबाट गर्नु पर्नेछ । जनताकै सेवा सुविधाको लागि हामीले कर लिएका छौं । जनतालाई विकास चाहिन्छ, सेवा सुविधा चाहिन्छ अनि आन्तरिक स्रोत पनि त मन्थलीमा त्यस्तो केही छैन ।

 

कर लगाउनु पूर्व तपाईंले मन्थली नगरपालिकाको जनताको जिवनस्तरलाई हेर्नु पर्दैन ?
मज्जाले हेरेको छु । मैले जे निर्णय गरेको छु जनताको क्षमतालाई हेरेर बुझेर मात्र गरेको छु । अहिले मन्थलीमा एउटा लेबरले दिनको १५०० रुपैयाँ कमाउछ । काम गर्नेको लागि मन्थलीमा अहिले कामको खाँचो छैन । कोही बेरोजगार पनि छैन । प्रायः युवाहरु विदेशमा छन् । अहिले मन्थलीमा एक आना जग्गाको मुल्य १५÷१६ लाख छ, अनि ८५० नगरपालिकालाई तिर्न के को रोइलो हो ? जनताले चै विकसित र समृद्ध मन्थलीको लागि दायित्व निर्वाह गर्नु नपर्ने हो र ? हामी नेपाली आफ्नो खेत बारी बाँझो राखेर विदेशीहरुको टमाटर, आलु, प्याज, लशुन, खुर्सानीलगाएतका दैनिक उपभोग्य सामान किनेर खान्छौं । विदेशीलाइ तिर्न परेको करको बारेमा केही बाल्दैनौं, अनि आफ्नै आँगनको स्थानीय सरकारले सेवा सुविधा दिँदा र त्यसबापत केही सुल्क लिदाँ रोइलो गर्ने यो प्रवृत्ती गलत छ । बिस्तारै जनताले बुझ्दै जान्छन् । कर सबै समृद्ध राष्ट्रले पनि लिन्छ र विकसीत भएको छ ।

 

मन्थली नगरपालिकामा उठेको करको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
अहिले स्थानिय तहलाई धेरै ठूलो भारी र जिम्मेवारी छ । केन्द्र सरकारले जनताको प्रत्यक्ष सरोकारको विषय हामीलाई जिम्मा दिएको छ । तर हामीलाई आर्थिक रुपमा ति विषयहरुमा खासै सहयोग गरेको छैन । आन्तरिक स्रोत परिचालन गर्नु भन्ने परिपत्र गर्छ । अहिले उठेको रकमलाई जनताको सेवा सुविधामा नै खर्च गरेको छौं । तर पनि सबैले समानुपातिक रुपमा त्यसको उपभोग गर्न पाएनन् कि भन्ने लागेको छ । छिट्टै हामी करलाई वैज्ञानिक रुपमा व्यवस्थापन गरी सबैको समान पँहुचमा लाने तयारीमा छौं ।

 

मन्थली नगरपालिकाका समस्या के के छन् ?
मन्थली मात्र हैन नेपालको अधिकांश नगरपालिका नामको मात्रका नगरपालीका हुन् । नगरपालिकामा हुनुपर्ने आधारभूत आवश्यकता नै छैन भन्दा पनि हुन्छ । मन्थली सुख्खा ग्रस्त क्षेत्र हो । पिउने पानीको हाहाकार छ । बाटोको स्तरोन्नती गर्न सकिएको छैन । वर्षामा हिलो हिउँदमा धुलो हुन्छ । लोडसेढिङ मुक्त जिल्ला हौं, तर नगरबासी सबैले बिजुली बाल्न पाएका छैनन् । मन्थली नगरभित्र भएको थोरै उब्जाउ भूमिमा किसानले सिँचाइ गर्न पाएका छैनन् । जिल्लाकै केन्द्र भएकोले यहाँ धेरै कुराको व्यवस्थापन गर्न बाँकी छ ।

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु