गृहपृष्ठ जिल्ला समन्वय समितिलाई अपाङ्ग बनाइयो : मुख्यमन्त्री राउत
जिल्ला समन्वय समितिलाई अपाङ्ग बनाइयो : मुख्यमन्त्री राउत
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान निर्माताहरुले त्रुटी गर्दा जिल्ला समन्वय समिति भूमिकाविहीन जस्तै हुनुपरेको बताएका छन् । प्रदेश समन्वय परिषद्को बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
संवैधानिक त्रुटीका कारण जिल्ला समन्वय समितिलाई अपांग बनाईएको उनको भनाई थियो । तर आफू उक्त समस्या समाधानका लागि सकारात्मक रहेको राउतको भनाई थियो ।
मुख्यमन्त्री राउतले स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई सम्बोधन गर्दै कर वृद्धि नगर्न आग्रह समेत गरे । स्थानीय तहले करवृद्धि गर्दा त्यसले संघीयतामाथिनै वितृष्णा बढ्न सक्नेतर्फ सचेत रहनुपर्ने उल्लेख गरे । अहिले कार्यान्वयनको चरणमा रहेको संघीयताप्रतिनै वितृष्णा बढ्नेगरी करवृद्धि गर्नु नहुने राउतको भनाई थियो ।
प्रदेशको विकास प्रदेश सरकारको एक्लो प्रयासले मात्र हुन नसक्ने भन्दै राउतले त्यसका लागि स्थानीय तह र प्रदेशबीच समन्वयको खाँचो औंल्याए । संविधानलेनै प्रदेश र स्थानीय तहबीच नङ र मासुको सम्बन्ध स्थापित गरिदिएको उल्लेख गर्दै उनले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
प्रकाशित समय : १३:५८ बजे



















