गृहपृष्ठ संघीयताको सकस : आमहड्तालको चपेटामा धनगढी
संघीयताको सकस : आमहड्तालको चपेटामा धनगढी
प्रदेश नम्बर ७ फेरि आन्दोलनको चपेटामा परेको छ । स्थायी राजधानी र नामकरणमा असहमति जनाउँदै कैलालीको धनगढीमा आमहड्तालको घोषणा गरिएपछि बिहानैदेखि बजार तथा पसल ठप्प छन् ।
धनगढीमा सवारी साधन चलेका छैनन् भने बजार पूर्णरुपमा बन्द छ । उद्योग, कलकारखाना तथा शिक्षण संस्था खुलेका छैनन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारालामा तामाङ संयोजकत्वको प्रदेशको नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेस भएपछि धनगढीमा तनाव सुरू भएको हो । राजधानी गोदावरी बनाउने प्रस्ताव पेस भएसँगै धनगढीबासी आन्दोलित भएका हुन् ।
संसदीय समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्ने सुझावसहितको प्रतिवेदन प्रदेश सभामा पेस गरेको थियो । धनगढीमा रहेका संरचनामा करोडौं लगानी गरेपछि राजधानी सार्ने गलत निर्णय भइरहेको भन्दै बिहीबार आमहड्तालको घोषणा गरिएको हो ।
यसअघि, बुधबारमात्रै प्रदेश नम्बर ७ को राजधानी र नामकरणमा असहमति जनाउँदै धनगढीस्थित प्रदेश संसदको कार्यालयबाहिर सर्वसाधारणले प्रदर्शन गरेका थिए । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थानबाहिरको सडकमा सर्वसाधरणले टायर बालेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले संसदीय समितिको सिफारिस मान्न नसकिने जनाउँदै आएका छन् । प्रदेश ७ को नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालीन संरचनालाई नै निरन्तरता दिन खोजेको भन्दै प्रदेशका अधिकांश जिल्लाबाट असन्तुष्टिको स्वर चुलिएको छ ।
प्रकाशित समय : १३:५७ बजे



















