गृहपृष्ठ दसैं लक्षित सहुलियत पसल भोलिदेखि
दसैं लक्षित सहुलियत पसल भोलिदेखि
चाडपर्व लक्षित सुलभ पसल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।
असोज १२ देखि २७ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागिएको उपभोक्ता हित तथा आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले बिहिबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा जानकारी दिएका हुन् ।
बैठकमा सांसदहरुले दसैं नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । चाडबाडको मुखमा मूल्य वृद्धि गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरे । समिति सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका कारणबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद देवेन्द्र पौडेलले दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताए । सांसदहरु गोपालबहादुर बम, अमृतादेवी अग्रहरि, सरिता न्यौपाने, दुर्गाकुमारी विश्वकर्मालगायतले चाडबाडको समयमा कालोबजारी हुने गरेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मात्रिका यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन बजार अनुगमन गर्दै सहुलियत पसल खोलिने बताएका थिए । यादवले दशैंको मुखमा चिनी, तेल लगायतका खाद्यान्नमा मूल्य नबढाउनका लागि समिति गठन गरिएको जानकारी दिए ।
वाणिज्य सचिव चन्द्र घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालमा पनि बढाउनुपरेको बताए ।
प्रकाशित समय : १४:२९ बजे



















