global ime bank Long Banner Ad

गृहपृष्ठ राजधानीका सडकमा थुप्रियो फोहोर, के गर्दैछन् स्थानीय सरकार ?

राजधानीका सडकमा थुप्रियो फोहोर, के गर्दैछन् स्थानीय सरकार ?

राजधानीका सडकमा थुप्रियो फोहोर, के गर्दैछन् स्थानीय सरकार ?

झन्डै एक महिनादेखि घरमा फोहोर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान हुनुहुन्छ । एकातिर घरमा फोहोर फाल्ने ठाउँ छैन, अर्कातिर घरअगाडिको फोहोरको दुर्गन्ध भान्सासम्म आउँछ ।

‘फोहोर लगेको भन्दै पैसा लिन भने प्रत्येक महिना ढोकामा घण्टी बज्छ तर समयमा नै फोहोर व्यवस्थापन हुन नसक्दा दैनिक कामकाजमा नै समस्या भएको छ,’ गृहिणी फुयाँलले भनिन् । काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको यो पहिलो पटक भने होइन । वर्षौंदेखिको समस्या जनप्रतिनिधि निर्वाचित भएर आएपछि हल हुने स्थानीयबासीले आशा गरे पनि समस्या घट्नुको साटो बढ्दो छ । दुई साताभन्दा पहिलेदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन ।

अहिले सडकका मुख्य चोक-चोकमा फोहोरको डंगुर लागेको छ । कालिमाटी चोकदेखि बल्खु निस्कँदा झन्डै एक दर्जन स्थानमा फोहोरको डंगुर देखिन्छ । काठमाडौंका कयौं स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं महानगरपालिकाबाट अहिले दैनिक ५०० टन र काठमाडौं उपत्यकाबाट दैनिक एक हजार टन फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुन नसकेकाले सडकका दायाँबायाँ थुपारिएको फोहोर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् ।

फोहोरमैला व्यवस्थापन काठमाडौं उपत्यकाको १८ वटै तहको समस्या भएकाले सामूहिक रुपमा समाधान खोज्न खाँचो रहेको कामपा, वातावरण महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । उनले भने, ‘सबै मिलेर वैकल्पिक उपायको खोजी गर्नुपर्छ, महानगरपालिकाले मात्रै गरेर हुँदैन ।’

ललितपुर महानगरपालिकामा पनि दिनदिनै फोहोर बढिरहँदा स्थानीयवासी हैरान छन् । चोक र सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएपछि केही दिन पहिले बालकुमारीस्थित खुला जग्गामा फोहोर लगिएको लमपाले जनाएको छ । चोकको फोहोरमात्रै उठाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘बालकुमारीमा सीमित खाली जग्गामात्र हुँदा हामीले सडकमा रहेको फोहोर भने उठाउन सकेका छैनौं ।’ ओखरपौवामा फोहोर लगिनासाथ समस्या समाधान हुने लमपाले जनाएको छ ।

लमपाले आफ्नो क्षेत्र र छिमेकी नगरपालिकासँग फोहोरमैला व्यवस्थापनको वैकल्पिक स्थानको खोजी गरेको थियो । ललितपुरका धेरै ठाउँ हवाई मार्गमा पर्ने हुँदा ल्यान्डफिल साइटको सम्भावना नभएको प्रवक्ता महर्जनले बताए । ‘स्थानीयबासीलाई सजग गराएर फोहोर उत्पादन कम गर्न भने सकिन्छ,’ महर्जनले भने, ‘कुहिने र नकुहिने फोहोर अब स्रोतबाट नै छुट्याउन आवश्यक छ ।’

झन्डै १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा अन्तिम व्यवस्थापन हुँदै आएको छ । दुई वर्षका लागि भनिए पनि वर्षौं वर्षसम्म फोहोर फालिँदा त्यस स्थानमा थप फोहोर फाल्न सक्ने अवस्था छैन ।

एक महिनाअघि मात्र ल्यान्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको थियो । समितिले एक महिना बितिसक्दा पनि समाधानका लागि कुनै उपाय दिनसकेको छैन । मरहठ्ठा आफैं कामपाबाट सरुवा भएर अन्यत्र गइसकेका छन् ।

सिसडोलभन्दा दुई किलोमिटर पर दीर्घकालीन ल्यान्डफिल साइट निर्माणका लागि कामपाले बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । त्यसमा थप काम भने हुन सकेको छैन । हरेक वर्ष वर्षामा काठमाडौंबासीले फोहोरको समस्या बढी भोग्दै आएका छन् । कामपाले वर्षाका कारण बाटो बिग्रिएकाले समस्या भएको जनाउँदै आएको छ ।

हरेक दिन निजी र स्थानीय तहका गरी दुई सय गाडी जानुपर्ने भए पनि हाल ५० गाडीमात्र फोहोर बोकेर सिसडोल पुग्ने गरेका छन् । कामपाले फोहोर व्यवस्थापनका लागि स्थानको छनोट केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै आएको छ भने केन्द्र सरकारले स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै आएको छ ।

सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहोर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या आएकाले सिसडोलका बासिन्दाले तत्काल फोहोर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गर्दै आएका छन् । अहिले सिसडोलमा थुपारिएको फोहोर माटाले पुर्ने र नयाँ फोहोर व्यवस्थापन गरिँदै आएकाले फोहोरको पहाड नै बनिसकेको छ ।

(रासस)

प्रकाशित समय : ००:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु